झापा । नेपाली कांग्रेसको दीर्घरोग जस्तै बनेको गुटगत धारको असर फैलदै गएर प्रदेश जिल्ला हुँदै स्थानीय तहको नगर र वडासम्म देखिएर एक विकराल समस्याको रुप लिएको छ ।
यस्तै परिवेशमा झापाको गौरादह नगरपालिका वडा नं ४ मा नेपाली कांग्रेस गौरादह वडा समितिले पार्टीको कृयाशील सदस्यहरुलाई क्रियाशील कार्ड वितरण गर्ने कार्यक्रममा नगर सभापति भने उक्त कार्यक्रमामा उपस्थित भएको देखिएन ।
सभापति मात्र नभएर नगरका कुनै पदाधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित भएका थिएनन् ।
नेका पार्टीको रोगकै रुपमा देखिएको शीर्ष नेताहरुले गरेको अराजनीतिक अभ्यास अथवा स्वार्थको राजनीति हाल प्रदेश जिल्ला र क्षेत्र हुँदै पालिका स्तरसम्म पुग्नुलाई दुर्भाग्यपूर्ण मानिएको छ ।
पछिल्लो समयमा एमालेले माओवादी केन्द्रसँग गरेको सत्ता गठबन्धनलाई बाइपास गरेर नेपाली कांग्रेससँग गरेको गठबन्धनलाई सत्तापक्षकै केही शीर्ष नेताहरुले अलोकतान्त्रिक गठबन्धन भन्दै निरन्तर सरकारको आलोचना गरिरहँदा कांग्रेस पार्टीभित्र धारको राजनीति नराम्ररी झाँगिदै गएको छ ।
प्रसङ्ग अनुरुप शनिबार गौरादह नगरपालिका ४ जोरघरेस्थित बौद्ध गुम्बामा आयोजित क्रियाशील सदस्यता वितरण कार्यक्रममा धारको राजनीतिको प्रभाव र त्यसको असरबारे चर्चा परिचर्चा भएको थियो ।
क्रियाशील सदस्यता परिचयपत्र वितरण तथा फर्निचर सामग्री ( दराज ) हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महिन्द्रकुमारी लिम्बूले उक्त वडाका कृयाशील सदस्यहरुलाई परिचय पत्र तथा पार्टी वडा समितिलाई एक थान कार्यालय दराज हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले गलत राजनीतिक अभ्यास गरेकोबारे चिन्ता ब्यक्त गरिन् ।
लिम्बूले पार्टी राजनीतिक इतिहासमा पनि विभिन्न किसिमका आन्तरिक समस्याहरु आएको स्मरण गराउँदै आफूहरुले तत्कालीक समयमा आएका समस्याहरु समाधान गर्न रात र दिन नभनी पार्टी सुदृढीकरणमा लागेको स्मरण गराउँदै पार्टीको जिम्मेवार सदस्यको हैसियतले अझै पनि पार्टीभित्रका समस्याहरु समाधान गर्न लागिपर्ने प्रतिबद्धता गरिन् ।
कार्यक्रमलाई सम्बोधनकै क्रममा अर्का वक्ता साविक महारानी झोडा गाविस , नेका पूर्व सभापति भीष्म अधिकारीले कांग्रेस पार्टीले भन्दा आफूले जित्नुपर्छ भन्ने भावना नेताहरुमा बढेर गएको जिकिर गरे । सम्बोधनकै क्रममा अधिकारीले पार्टी संगठनमा म नै हुनुपर्छ र मेरो हुनुपर्छ भन्ने कुरा छोड्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता दिलबहादुर बुढाथोकीले सबै पार्टीभित्र स-साना असन्तुष्टिहरु रहने भएकाले त्यस्ता असन्तुष्टिहरुलाई सामान्य रुपमा लिएर पार्टी अगाडि बढ्नु पर्ने बताए ।
कांग्रेस राज्य प्रशासन विभाग केन्द्रीय सदस्य तीर्थराज खनालले पार्टीभित्र आशा जगाउन आवस्यक रहेको भन्दै पार्टीलाई हाम्रो कांग्रेस र कांग्रेसलाई राम्रो कांग्रेस बनाउनतिर लाग्नुपर्नेमा जोडदिए ।
अर्का वक्ता महासमिति सदस्य सिताराम भट्टराईले पछिल्लो समय कार्यकर्ताहरुमा राष्ट्रिय रुपमा नै नैरास्यता छाएको बताउँदै अझै पनि इतिहासलाई भजाएर पार्टी नचल्ने बताउँदै कार्यकर्ताहरुबीच देशब्यापी रुपमै अन्योल छाएको टिप्पणीगरे ।
आदर्श पुरुष बीपी कोइरालाले दिएको नीति विश्व स्तरमै उत्कृष्ट भएकोले आत्तिनुपर्ने अवस्था नरहे पनि नेताहरुलाई छुट नभएको भट्टराईले जिकिर गरे !
झापा क्षेत्र नं ५ क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले कार्यकर्तालेनै आफूहरुलाइ जिताएर जिम्मेवारी दिएकोले आफूहरुले राम्रो ढङ्गले जिम्मेवारी निर्वाह गर्न नसके कार्यकर्ताहरुले नयाँ अधिवेशनमार्फत नेताहरुलाई पुन: मूल्यांकन गर्ने जिकिर गर्दै उक्त कुरामा आफूहरु सचेत रहनु पर्ने प्रस्ट पारे ।
नेता कार्यकर्ताहरुले संगठनलाई दर्बिलो बनाउनुको विकल्प नभएको बताउँदै हाल पार्टीमा ब्यक्ति दर्बिलो हुने परिपाटी हावी भएको बताए । साथै क्षेत्र नं ५ मा संगठन कमजोर नभएको र कार्यकर्ताहरुमा नैराश्यता भएको भण्डारीले स्वीकारे ।
कांग्रेसका बौद्धिक ब्यक्तित्व बाबुराम भण्डारीले गौरादह नगरमा पछिल्लो समय पार्टी भित्र नियम र पद्धति उल्लंघन भएको जिकिर गरे ।
नेताहरुले पार्टीको महाधिवेशन , महासमिति र जिल्ला सदस्य लड्दैगर्दा गरेका बाचाहरु के कति पूरा गरे अब क्रियाशील सदस्यहरुले खोज्ने बेला आएको भण्डारीले उद्घोष गरे ।
नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु नेताहरुको दास नभएको र नबन्ने भन्दै पार्टीको आम हितकोलागि बृहत छलफल आवस्यक रहेकोले विभिन्न समयमा पार्टी बाट केन्द्र र प्रदेशको टिकट पाएका उम्मेद्बारहरुले पार्टी लाई दर्बिलो बनाउन तर्फ जिम्मेवारी भुमिका खेल्नुपर्ने औँल्याए ।
नेपाली कांग्रेस गौरादह नगर समितिमा हाल फुच्चे खेल भैरहेकोले कांग्रेसको नगर पार्टी गौरादह विकलांग भएको बताए ।
कार्यक्रमलाई समापन सम्बोधन गर्दै कार्यक्रमका सभाध्यक्ष एवं वडा सभापति नेत्र ढुङ्गानाले हाल गौरादह नगरको नेपाली कांग्रेस पार्टी नेतृत्वविहीन अवस्थाको रहेको भन्दै केन्द्रले पछिल्लो समय गौरादह नगरको पार्टी सभापति सम्बन्धी गरिएको पछिल्लो निर्णय आफूहरुलाई स्वीकार नभएको भन्दै नेतृत्वगणले यदि अझै पनि उक्त समस्याको उचित निकास नदिए आफूहरु नगर समितिलाई बाइपास गर्दै निरन्तर कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिए ।
वडा समितिले उक्त वडाका २ सय १२ जना कृयाशील सदस्यहरुलाई परिचय पत्र हस्तान्तरण गरेको थियो ।