arrow

विनियोजन शीर्षकहरूमाथिको छलफल

संसदीय गतिरोध र बजेटमाथि जनार्दनको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
janardan-05.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा जारी अवरोध र विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद भएको बताएका छन्। बिहीबार विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले नेतृत्वको काम समस्या समाधान गर्ने भए पनि त्यसप्रति चिन्ता र चासो नदेखिएकोमा दुःख व्यक्त गरे।

सांसद शर्माले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरि कार्यान्वयन हुने यस्तो महत्त्वपूर्ण कार्यक्रममा सांसदहरूले आफ्नो कुरा राख्न नपाएकोमा आपत्ति जनाए। उनले बजेट वक्तव्यलाई हतारमा टुंग्याएर सांसदहरूको अधिकार कटौती गरिएकोप्रति दुःख व्यक्त गर्दै यो अस्वस्थ संस्कार भएको बताए। "समस्याको समाधान गर्न हामी किन सक्दैनौँ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो। समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन। त्यसकारण यस्तो संस्कार र यस्तो संस्कृति हामीले बसाल्न हुँदैन," उनले भने।

शर्माले विश्व युद्धको सँघारमा गइरहेको अवस्थामा मध्यपूर्वमा रहेका लाखौँ नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गरे। उनले एक वर्षअघि नै यस्तो परिस्थितिको सम्भावनाबारे चेतावनी दिँदै यहाँ उत्पादन र रोजगारी सिर्जना गर्नेतर्फ बेलैमा छलफल गर्न आग्रह गरेको स्मरण गराए।

"अब उनीहरूको सुरक्षाका बारेमा सरकारले के गर्छ भन्ने गम्भीर प्रश्न उठेको छ। त्यहाँ चालिसौँ लाख नेपाली हुनुहुन्छ, भोलि युद्ध चर्किए फिर्ता कसरी ल्याउँछौँ? सुरक्षा कसरी गर्छौँ? रोजगारी कसरी दिन्छौँ? खाना कसरी दिन्छौँ? धेरै गम्भीर विषय छ," शर्माले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा, रोजगारीलगायतका विषयमा सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ