arrow

रैथाने धान संरक्षणका लागि बागलुङमा किसानलाई प्रतिमुरी एक हजार अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
paddy-gulmi-81-8-12.jpg

बागलुङ। 'हाइब्रिड' बीउबिजनको बढ्दो प्रयोगले रैथाने कृषि बालीका पुराना जातहरू लोप हुँदै गएको सन्दर्भमा, बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानहरूलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ। वडा समितिको निर्णयअनुसार आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक हजार रुपैयाँ अनुदान प्रदान गरिने वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए।

कुन–कुन धानमा अनुदान?
वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानहरूलाई अनुदान दिन लागेको हो। आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट विनियोजन गरिएको पौडेलले बताए। उनले भने, "तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ। वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ।"

आवश्यक परेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ। लोपोन्मुख धानको जात जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले स्पष्ट पारे। पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाको साथ र अन्य सामाजिक कार्यक्रम
यसअघि केही किसानले मात्र परम्परागत धान उत्पादन गर्दै आएका थिए। हाइब्रिडले रैथाने बीउ मासिने अवस्था आएपछि संरक्षणका लागि वडा समिति यो निर्णयमा पुगेको हो। बागलुङ नगरपालिकाले पनि यस निर्णयलाई 'गज्जबको' भएको भन्दै प्रशंसा गरेको छ। नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, "उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ। कृषि पेसा गरेको किसान खुसी बन्ने वातावरण बनाउने प्रयासमा छौँ।" धेरै उत्पादन गर्ने किसानको धान नगरपालिकाले पनि बजारीकरणमा सहयोग गर्ने उनले बताए।

वडा नं १३ ले मुसुराबारीको दलित बस्तीमा रहेका १४० घरधुरीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउन सहयोग गरेको छ। चालु वर्षको ५० हजार रुपैयाँले बिरुवा किनेर किसानलाई दिइएको हो। वडाले गत वर्षदेखि नै रासायनिक मल ढुवानीमा प्रतिकेजी दुई रुपैयाँ अनुदान दिँदै आएको छ।

यसबाहेक, वडाले पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था, र गर्भवती महिलाले गर्भजाँच गर्न आउँदा हरेक पटक एक/एक क्रेट अण्डा दिने व्यवस्थासहित पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ