एमाले नेतृत्व सक्षम तर कार्यकर्तामा उत्साहको कमी - उपाध्यक्ष पौडेल [भिडियो]
नेतृत्वको क्षमतामा विश्वास, तर कार्यकर्तामा चिन्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
640
Shares
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नेतृत्वले सबै आन्तरिक समस्या समाधान गर्न सक्ने बताएका छन्। उनले पार्टी एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको दाबी गरे।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले भने, "आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन। समस्याहरू छन् तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्नसक्ने तहभित्रै छन्।" उनले पार्टी नेतृत्वले कुनै पनि समस्याको समाधान गर्नसक्ने र पार्टीको एकता सुरक्षित गर्दै अगाडि बढ्नसक्ने विश्वास व्यक्त गरे।
यद्यपि, पौडेलले कार्यकर्ता तहमा देखिएको सक्रियता र उत्साहमा कमी प्रति चिन्ता व्यक्त गरे। "अहिले हाम्रो पँक्तिमा अलिकति त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ," उनले भने, "एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे। अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन?" उनले पार्टी र कार्यकर्तामा आएको शिथिलताको कारणबारे थप छलफलको आवश्यकता रहेको बताए।
पौडेलले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै पार्टीका आन्तरिक समस्याहरूको उचित मूल्याङ्कन गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।