आगामी बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय - अर्थमन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
701
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गरे। उनले चालू आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५.५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको बताए। उनले पछिल्लो दिनहरूमा 'ऋणको पासो', 'ऋणको आकार बढेको' र 'ऋण लिने सम्बन्धमा होशियार हुनुपर्ने' जस्ता चर्चा र टिप्पणी हुने गरेको स्वीकार गर्दै आफू सो विषयसँग जानकार रहेको जिकिर गरे।
पौडेलले भने, "यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन्, ती मान्यताहरूको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा चालू आर्थिक वर्षको तुलनामा मैले केवल ५.५६ प्रतिशतले मात्रै आकार वृद्धि गरेको छु।"
उनले थपे, "त्यसकारण म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतको सम्बन्धमा चाहे त्यो राजश्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस् यी सबै यथार्थपरक छन्।"
अर्थमन्त्री पौडेलले ऋणको लागि ऋण लिने नभई प्रतिफल सुनिश्चित हुने गरी उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको दाबी गरे। उनले सरकार ऋणप्रति सजग रहेको समेत दोहोर्याए।