काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले 'जेन-जी' पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो दाबी गरेका हुन्।
उपाध्यक्ष पौडेलले नेकपा एमाले जेन-जीका जायज आकाङ्क्षा र अपेक्षाका विरुद्धमा कहिल्यै नरहेको र नरहने स्पष्ट पारे। उनले एमालेले सबै उमेर समूहका नागरिकहरूको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे।
उनले भने, "जेन-जी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु।" भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै उनले सामाजिक सञ्जालको निर्वाध उपयोग गर्ने उनीहरूको माग नितान्त जायज रहेको बताए।
यस क्रममा उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको पनि बताए।