arrow

रुपन्देही २ मा विष्णुलाई टक्कर दिँदै चार अनुहार, कसको पल्ला भारी ?

logo
नारायण वली,
प्रकाशित २०८२ माघ २६ सोमबार
butwal-vally-5.jpg

लुम्बिनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही २ को चुनावी सरगर्मी यतिबेला तातिँदै गएको छ । ०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको लालकिल्ला मानिने रुपन्देही २ मा यसपटक नयाँ अनुहारसँग प्रतिस्पर्धा गरेर जितको रेकर्ड जोगाउन चुनावी मिसनमा लागेका छन् । पौडेलको पकेट किल्ला मानिने भएकाले रुपन्देही २ लाई विशेष रुपमा हेरिएको छ ।

एमाले नेता पौडेल यसपटक सामाजिक पहिचान बनाएका, युवा र पेशागत रुपमा स्थापित उम्मेदवारहरुसँग चुनावी मैदानमा भिड्ने भएका छन् । यहाँ कांंग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनसेवा पार्टीबीच पञ्चपक्षीय भिडन्त हुने देखिएको छ ।

निरन्तर जित हासिल गर्दै आएको किल्लालाई छोडेर शुरूआतमा पाल्पा २ जाने तयारीमा रहेका पूर्व अर्थमन्त्री पौडेल अन्ततः रुपन्देहीमै फर्किएर उम्मेदवारी दर्ता गरेसँगै यस क्षेत्रको चुनावी प्रतिष्पर्धालाई चासोको रुपमा लिइएको छ ।

पौडेल ०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । त्यसबेला नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए ।

०६४ सालयता भएका सबै निर्वाचनमा शानदार मतसहित निरन्तर विजय हासिल गर्दै उनी ०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग झिनो मतले चुनाव जितेका थिए । 

जतिबेला एमालेभित्र नै पौडेलको जितप्रति संशय बढाएको थियो । त्यतिबेला विष्णु पौडेलले २७ हजार १ सय ४७ मत पाउँदा गणेश पौडेलले २५ हजार ७ सय ८१ मत ल्याएका थिए । अहिले छैटौँ पटक उम्मेदवार बनेका पौडेलले आफ्नो अनुभव र विकासको निरन्तरतामाथि मतदातासँग जोड दिँदै आएका छन् ।

विशेषगरी बुटवलको र रुपन्देहीको विकासका लागि ठूलो योगदान पुर्याएका पौडेलमाथि वालुवाटार जग्गा प्रकरणसँगै लुम्बिनी प्रदेशको अस्थायी मुकामलाई स्थायीरुपमा बुटवलमा स्थापित गर्नुको साटो अर्थमन्त्री पदसँग प्रदेशको संरचना साटेको आरोप लाग्नुको साथै बुटवलबासीमा चरम गुनासो छ । 

एमालेका 'हेभिवेट' नेता मानिने पौडेलसँग नेपाली कांग्रेसबाट बुटवलका चर्चित उद्योगी चुन्नुप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता विश्वदीप पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता सुलभ खरेल र पछिल्ला वर्षमा अभियन्ताका रुपमा चिनिएका चिकित्साशास्त्र अध्ययन गरेका डा.निकोलस भनिने (कमल भुसाल) चुनावी मैदानमा उत्रिएका छन् । 

कांंग्रेस वृत्तमा चुन्नु पौडेललाई बजार र व्यावसायिक समुदायको मत तान्न सक्ने उम्मेदवारको रुपमा हेरिएको छ । एमाले र कांग्रेसलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीले कानून क्षेत्रमा दख्खल भएका अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले जनयुद्धकालदेखि पार्टीमा सक्रिय हाल पार्टीको केन्द्रीय सदस्य तथा प्रचार र सामाजिक सञ्जाल विभागको जिम्मेवारीमा रहेका युवा नेता विश्वदीप पाण्डेयलाई उम्मेदवार बनाएको छ । 

विश्वदीप ०६४ सालको निर्वाचनमा विष्णु पौडेलसँग थोरै मतले पराजित भएका सैनामैना निवासी माओवादी नेता स्वर्गीय भक्ति पाण्डेयका छोरा हुन् ।

आफ्ना पितासँग चुनाव लडेका पौडेलसँग पाण्डेयले यस पटक चुनावी मैदानमा टक्कर दिने अठोटका साथ घरदैलोमा लागेका छन् । अर्का प्रतिस्पर्धी हुन् डा कलम भुसाल (निकोलस) । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका उनी विगतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्यको माध्यमबाट मानवीय सेवामा खटिने युवाको रुपमा परिचित छन् । 

रुपन्देही २ मा कुल एक लाख ३५ हजार ५० मतदाता छन् । बुटवल उपमहानगरपालिका–१ देखि १३, तिलोत्तमा नगरपालिकाका–१ देखि ६ तथा सैनामैना नगरपालिका–१ देखि ४ नम्वर वडा पर्दछन् ।

अनुभवी नेता विष्णु पौडेल, उद्योगी चुन्नु पौडेल, माओवादीका युवा विश्वदीप पाण्डेय, युवा अधिवक्ता सुलभ खरेल र सामाजिक अभियन्ता डा.निकोलसबीच हुने प्रतिस्पर्धाले यहाँको चुनावलाई लुम्बिनी प्रदेश र संघीयस्तरको नजरबाट हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ