काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
शनिबार सामाजिक संजालमार्फत उपाध्यक्ष पौडेलले राजनीतिको यात्रा लामो भएकाले अहिलेको निर्वाचनको परिणामबाट विचलित नहुन आग्रह गरेका हुन् ।
‘पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस् । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन्,’ उनले लेखेका छन् ।
उनले विगतमा भएका कमजोरको गम्भीर समीक्षा गर्न र जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले लेखेका छन्, ‘विगतमा हाम्रातर्फबाट भएका गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आँफैलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको उल्लेख गर्दा रुपन्देही २ का मतदाताको फैसलालाई सविनय र सहर्ष स्वीकार गरेका छन् ।
आफू पदमा रहे नरहे पनि रुपन्देहीको विकास समृद्धि र मतदाताको दु:खमा साथ र सक्रियता सधै निरन्तर रहने दाबी गरे ।
यस्तो भयो उनको यसपालिको चुनाव
पटक-पटक अर्थ र गृहमन्त्री भइसकेका प्रभावशाली नेता पौडेलको लामो समयदेखिको राजनीतिक बर्चस्व समाप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले एमालेका हेभिवेट नेता पौडेललाई निकै फराकिलो मतान्तरले स्तब्ध पार्दै शानदार जित हासिल गरेका छन्।
अन्तिम मतपरिणाम अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी पौडेललाई ४३ हजार ६८९ को विशाल मतान्तरले पराजित गरेका छन्। पराजित भएका एमाले नेता पौडेलले जम्मा १२ हजार ८६१ मत मात्र पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेल ९ हजार ३९२ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। रास्वपाका सुलभ खरेलले पाएको मत कांग्रेस र एमालेका उम्मेदवारले पाएको कुल मतको योगफलभन्दा पनि दोब्बर बढी देखिएको छ। एमालेको बलियो गढ मानिने र पौडेलले लगातार जित्दै आएको यस क्षेत्रमा रास्वपाका युवा उम्मेदवारले हात पारेको यो जितलाई राष्ट्रिय राजनीतिमै ठूलो उथलपुथलका रूपमा हेरिएको छ।
खरेलले पाएको मत अन्य प्रमुख दलका उम्मेदवारको कुल मतभन्दा झण्डै तीन गुणा बढी हुनुले मतदातामा आएको तीव्र परिवर्तनको संकेत गर्दछ। अहिले बुटवल र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै खुसियाली मनाइरहेका छन्।