इजलास कक्षमा दुर्व्यवहार भएपछि अदालतमा सुरक्षा व्यवस्था कडा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
770
Shares
वीरगञ्ज । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
१४ वटै न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पीएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
यहाँका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत) का तीन जना कार्यकर्ताले विहीबार अपरान्ह करिब ४ बजेको समयमा इजलास कक्षमै दुर्व्यवहार गरेका थिए ।
सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीशद्वयमाथि दुव्र्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिए ।
“खाजा खाने बाहना बनाएर अदालतभित्र छिरेका उनीहरुले मौका छोपेर न्यायाधीसशद्वयमाथि दुर्व्यवहार गरेका रहेछन्,” उनले भने, “पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थप गर्नका लागि पठाएका छौँ ।”
उनले दुर्व्यवहार गर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने बताए ।
यसअघि १४ वटै न्यायाधीशको लागि एक–एक जना पीएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो ।
प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए । “विगत लामो समयदेखि कार्यरत रहँदै आएका १४ वटै न्यायाधीशको ‘पीएसओ’लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,” उनले भने, “अदालत परिसरको सुरक्षामा खटिने प्रहरीको जनशक्ति समेत थप गरेर सुरक्षालाई अझैँ मजबुत गराउने काम भइरहेको छ ।” रासस