पोखरा विमानस्थल निर्माणमा अनियमितता: दुई कम्पनीसहित एक्काइस व्यक्तिविरुद्ध मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
891
Shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीलगायत २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी तथा ठेकेदार कम्पनी चाइना सीएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदाता ईआरएमसी/ए-नट/स्लेट जेभी उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी र अनियमित काम गरेको आरोप लगाइएको छ।
आयोगले निर्माण प्रक्रियामा नियमविपरीत काम, लागत वृद्धि र आर्थिक पारदर्शितामा प्रश्न उठाएको उल्लेख गरेको छ। बिगो रकम करिब रु ४६ करोड १५ लाख रहेको छ र आवश्यक भए जरिवाना पनि दाबी गरिएको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, निर्माण सम्झौतामा प्राधिकरणले छुट्टै बजेटबाट परामर्शदाता भुक्तानी गर्दा अनियमितता भएको उल्लेख छ।
प्रतिवादी अधिकारी तत्कालीन संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव थिए भने अन्य महानिर्देशक, उपमहानिर्देशक र चाइनिज कम्पनी पनि मुद्दामा समावेश छन्।
लामिछानेले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको हकमा आठ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो माग गरिएको छ।
ठेक्का सम्झौता अनुसार परामर्शदाता भुक्तानी गर्नु पर्नेमा उनीहरूले सरकारको बजेटबाट छुट्टै खर्च गरी अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ।
यसअघि पनि पोखरा विमानस्थलसँग सम्बन्धित अन्य मुद्दामा प्रदीप अधिकारी, बाबुराम पौडेल र विनेश मुनकर्मी प्रतिवादी रहेका थिए। उनीहरूमाथि गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी विशेष अदालतमा मुद्दा चलिरहेको छ।