बुटवलमा सरकारी जग्गा खाली गराउन शुरू, उच्च अदालत अगाडिका घरटहरा हटाइँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
301
Shares
तस्बिर फाइल
काठमाडौँ । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाउने कार्य शुरू भएको छ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको यो जग्गा कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालतको भोगाधिकारमा दिइएको थियो। साविक वडा नम्बर ६ (हाल वडा नम्बर ४) अन्तर्गत पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएको यो जग्गामा लामो समयदेखि अनधिकृत संरचनाहरू बनेका थिए।
बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङमार्फत सूचना जारी गर्दै सरकारी जग्गामा रहेका संरचना खाली गर्न निर्देशन दिएको थियो। सो क्षेत्रमा विशेष गरी चिया पसल र रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन्।
वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलका अनुसार, उक्त क्षेत्रमा बुटवल बार एसोसिएसन र प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न सङ्घसंस्थाका संरचनाहरू पनि रहेका छन्। ती संरचनाहरू अदालतको भोगाधिकारभित्र पर्ने कित्तामा पर्छन् वा पर्दैनन् भन्ने विषयमा अहिले प्राविधिक अनुसन्धान भइरहेको छ।
उल्लेखनीय छ कि यो जग्गा खाली गराउन १२ वर्षअघि पनि प्रयास गरिएको थियो। अहिले सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई तीव्र पारेसँगै पुनः यो प्रक्रिया अघि बढाइएको हो।