आलमलाई सफाइ दिने न्यायाधीश थारूमाथि इजलासमै कालोमोसो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
988
Shares
काठमाडौँ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालोमोसो छ्यापिएको छ। यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ।
पर्सा प्रहरीका अनुसार, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले यो घटना गराएका हुन्। मोसो छ्याप्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू सेवाग्राहीको भेषमा अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए।
न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो। आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागेको थियो। जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका थिए। तर, रिहाइलगत्तै मस्तिष्कघातका कारण उनी अस्पताल भर्ना भएका छन्।
आलमलाई सफाइ दिने निर्णयपछि न्यायाधीश थारू र महर्जन विवादमा तानिएका छन् भने उनीहरूमाथि न्याय परिषद्मा उजुरीसमेत परेको छ। यो घटनाले न्यायिक स्वतन्त्रता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।