सरकार लचक र जिम्मेवार नभएसम्म संसद चल्न सक्दैन- वर्षमान पुन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
778
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले 'भिजिट भिसा' प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको भन्दै आपत्ति जनाएका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार नरम हुनुको सट्टा झन् गरम हुँदै गएको र यस विषयमा जिम्मेवार बन्नुपर्ने बताए।
पुनले 'भिजिट भिसा' प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानबिनमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। "भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन," उनले भने, "भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताका साथ प्रस्तुत हुन्छ भन्ने आशा छ। हामी धेरै नरम भएका छौँ, सरकार गरम छ। सरकार अलि नरम र जिम्मेवार हुनुपर्छ। यो विषय प्रतिपक्षको नभई जनताको विषय हो। आम जनताले दुःख पाइराखेको छ। यसबारे छानबिन गरेर तथ्यहरू स्थापित गर्नको लागि सरकारको प्रतिबद्धता अनिवार्य हो नि त।"
'भिजिट भिसा' को आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए/नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। जेठ १३ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले जेठ १५ गते बजेट ल्याउन दिए पनि दुई साताभन्दा बढी समय भइसक्दा पनि बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।