arrow

भिजिट भिसा प्रकरण

भिजिट भिसा समस्या समाधानमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद छैन - सांसद बस्नेत

बुधबारदेखि संसदको गतिरोध अन्त्य हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
shakti-basnet-05-11.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलहरू एक ठाउँमा रहेको बताएका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले भिजिट भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताए।

बस्नेतले भिजिट भिसा प्रकरणको बारेमा मंगलबार घनिभूत रूपमा छलफल गर्ने र बुधबारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भएको जानकारी दिए। उनले बुधबारदेखि संसदको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे।

"भिजिट भिसा प्रकरणको समस्याबारे सबैमा एकरूपता नै देखिन्छ," उनले भने, "यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गर्नुपर्छ भन्ने कुरामा पनि कुनै समस्या र विमति रहेन। तर कसले गर्ने? कसरी गर्ने? भन्ने विषयमा छलफल गर्न बाँकी छ। भोलि हामी यो विषयमा सघन ढङ्गले छलफल गर्ने उद्देश्यले पर्सिलाई बैठक सारेका छौँ।"

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ