arrow

लेखा समिति

चिनियाँ कम्पनी एनकेले सिनोको कागजात राखेर लिन खोज्यो जगदुल्ला हाइड्रो ठेक्कामा, छानबिनको माग [भिडियो]

जगदुल्ला हाइड्रोपावर ठेक्कामा ‘नक्कली कागजात’ प्रयोगको आरोप, संसदीय छानबिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
lekha-samiti-2082-02-23.jpg

काठमाडौँ । डोल्पास्थित जगदुल्ला हाइड्रोपावर आयोजनाको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै राष्ट्रिय महत्वको यस परियोजनामाथि छानबिन गर्न लेखा समितिमा माग गरिएको छ। डोल्पाका लाप्पा शेर्पाले दिएको उजुरीका आधारमा आज लेखा समितिमा भएको छलफलमा सांसदहरूले गम्भीर चासो व्यक्त गरे।

माओवादी सांसद अमललाल मोदीले कुनै पनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा जगदुल्लामा शुरुबाटै अनियमितता भएको बताए। उनले खरिद नियमावलीअनुसार जोडिएका विषयहरूमाथि खेलवाड गरिनुले गम्भीर प्रश्न उठेको भन्दै लेखा समितिले यस विषयमा छानबिन गर्नुपर्ने बताए।

सांसद मोदीले भने, "कुनै पनि ठेक्का लगाउँदा मापदण्ड हुन्छ। मापदण्डमा चारवटा कम्पनी राखिएको थियो। चारवटामा २ वटालाई पहिल्यै फालियो। उनीहरूको मापदण्ड पुगेन। दुईवटा कम्पनी छानिएकोमध्येमा सिनो हाइड्रोपावरकै डकुमेन्ट जोवाइन्ट कम्पनी जुन छ, जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरूले लिएर कपि पेस्ट गरेर राखेका रहेछन्। ती डकुमेन्टहरू गुगलमा राखेर चेक गर्नुपर्छ। उनीहरूले पेस गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न। गाउँ छ, सहर छ, त्यो लोकेशनमा कुनै हाइड्रोपावर देखिन्न। त्यहाँ कुनै कम्पनी पनि छैन। अर्काको कम्पनी लिएर, अर्काले काम गरेको सर्टिफिकेट लिएर, त्यही मोडलमा एकैपटक हालिएको छ। त्यसैलाई जगदुल्ला कम्पनीले त्यहाँको मूल्यांकन समितिले त्यसैलाई सदर गरेको रहेछ। यो गम्भीर कुरा हो।"

नेपाली कांग्रेसका सांसद राजन केसीले झुटो जालसाझी गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए। उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गर्दै भने, "नक्कली डकुमेन्टकाबारेमा प्रश्न उठेको छ। सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गरौँ। त्यतिञ्जेल केही काम अघि नबढाउन निर्देशन दिनुपर्छ।"

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरू प्राविधिकहरूलाई राखेर छानबिन गरिनुपर्ने बताए। उनले दुवैतिर ख्याल गरेर छानबिन हुनुपर्नेमा जोड दिँदै भने, "हामी खासै कुरा बुझ्दैनांै। टेक्निकल मान्छे राखेर डकुमेन्ट चेक गराउनुपर्छ। अहिले ठेक्का आफूले नपाएपछि जालझेल गरेर रोक्ने ट्रेन्ड पनि छ, हामीले ख्याल गर्नुपर्छ।"

केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुईवटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानबिन थालेको थियो। लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेशन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ