arrow

श्री मेडिइक्विप्स नेपाल  प्रालि कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
high-court-patan.jpeg

काठमाडौँ । खरिद सम्झौता विपरीतका सामान आपूर्ति गर्ने कम्पनी श्री मेडिइक्विप्स नेपाल प्रालिको धरौटी जमानत जफत गरी कालोसूचीमा राख्ने बाटो खुलेको छ ।

खरिद सम्झौता तथा डिटेल टेक्निकल स्पेसिफिकेसन्स एन्ड स्ट्यान्डर्स विपरीतका कमसल सामग्री आपूर्ति गरेको आरोपमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले मेडिइक्विप्सको धरौटी जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेकोमा उच्च अदालत पाटनले कम्पनीको रिट निवेदन खारेज गरेसँगै उसको धरौटी जमानत जफत गरी कम्पनीलाई कालोसूचीमा राख्न बाटो खुलेको हो । 

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र मातहतका अस्पतालको सेवा विस्तार एवं समय सापेक्ष स्तरोन्नतिको लागि डिजिटल रेडियोथेरापी सिस्टम हाइ फ्रिक्वेन्सी एक्सरे मेशिन ५०० एम ए (डीआर) थान ३ खरिद गर्ने निर्णय भई मिति ०८० भदौ २२ मा बोलपत्र आह्वान गरिएकोमा डिटेल टेक्निकल स्पेसिफिकेसन्स एन्ड स्ट्यान्डर्स, यूएसएफडीए सर्टिफाइड लेटर एवं कम्पनीको ब्रोसरसहित विद्युतीय माध्यमबाट कम्पनीले पेश गरेको बोलपत्र प्रस्ताव स्वीकृत भएको थियो । 

त्यसपछि कम्पनी र नेपाल प्रहरी अस्पतालबीच २०८० माघ १९ मा मेशिनरी उपकरण आपूर्ति गर्ने सम्बन्धी ११ बुँदे सम्झौता भएको थियो । 

कम्पनीको आफ्नो प्रतिवद्धता विपरीत फरक ब्राण्ड र फरक स्पेशिफिकेसनका सामग्री आपूर्ति भएको शंका लागि चेकजाँच गर्न प्राविधिक समिति गठन गरिएको थियो । 

आपूर्तिकर्ताबाट आपूर्ति गरिएका सामग्रीहरुबारे विस्तृत अध्ययन गरी प्राविधिक चेकजाँचमा असफल रहेको भन्ने प्रतिवेदन प्राप्त भएपछि सोही प्रतिवेदनका आधारमा सम्झौता रद्द गरी कम्पनीको धरौटी जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको थियो ।  

आपूर्तिकर्ता कम्पनीले नै पेश गरेको डिटेल टेक्निकल स्पेसिफिकेसन्स एन्ड स्ट्यान्डर्स एवं यूएसएफडीए सर्टिफाइड लेटर विपरीतको डिटेल टेक्निकल स्पेसिफिकेसन्स एन्ड स्ट्यान्डर्सको सि. नं ३.८, ४.१, ४.२, ४.२.१, ४.२.२, ४.२.३, ४.१५, ४.३, ४.३.२, ४.३.३, ४.३.७, ४.३.९, १२.१२ का बुँदाहरुमा उल्लेखित पार्टपुर्जा, ब्राण्ड तथा सफ्टवेयर भन्दा कमसल उपकरण आपूर्ति गरेकोले प्राविधिक चेकजाँचमा असफल भएको हो । 

उच्च अदालत पाटनले आफ्नो निर्णयमा मेडिइक्विप्सले बोलपत्रमा सहभागी हुँदादेखि नै सुनियोजित रुपले अनधिकृत केरमेट गरी पेश गरेका कारण उत्पादक कम्पनीको आधिकारिक वेभसाइटमा उपलब्ध विवरणसँग मेल नखाने व्यहोराको ब्रोसर रहेको देखिन्छ । 

कम्पनीले उपलब्ध गराएको डिजिटल रेडियोग्राफी मेशिन डीआरको प्राविधिक जाँच गर्दासमेत मेशिनहरु मापदण्ड विपरीत रहेको विभिन्न नक्कली स्टिकर टाँस भएको फरक कम्पनीको फरक ब्राण्डको सामान उपलब्ध गराएको देखिएको अवस्था हुँदा रिट कम्पनी र नेपाल प्रहरी अस्पतालबीच एक्सरे मेशिन खरिद सम्बन्धमा भएको सम्झौतामा उल्लेख भए अनुसारको एक्सरे मेशिन उपलब्ध गराउन नसकेको फैसलामा भनिएको छ । 

प्राविधिकले दिएको प्रतिवेदन अन्तिम भइ बसेको अवस्थामा कम्पनीको माग दाबी अनुसारको उपचार प्रदान गर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ भनी फैसला भएको छ । 

कम्पनीले आपूर्ति गरेको सामानको एक्सरे ट्युबमा कैफियत, जेनेरेटरमा कैफियत, कम्युटर सिस्टममा कैफियत, सफ्टवेयरमा कैफियत, जे जति उपकरणहरु छन् ती कम्पनीले प्रस्ताव साथ पेश गरेको यूएसएफडीए सर्टिफाइड लेटरसँग पनि कम्प्याटिबिलिटी नभएको र ई बिडिङको माध्यमबाट पेश गरेको प्रस्तावको साथमा उपलब्ध गराएको कम्पनीको ब्रोसरसमेत तोडमोड गरेको पाइएकोले प्रहरी अस्पतालले सम्झौता रद्द गरी कम्पनीको धरौटी जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । 

उच्च अदालत पाटनको निर्णयले नेपाल प्रहरी अस्पतालको उक्त निर्णय अनुरुप कम्पनीको धरौटी जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । फैसलाको पूर्णपाठ यसैसाथ राखिएको छ । 

प्रतिवेदन हामीसँग सुरक्षित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ