विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छ - उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
450
Shares
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
आज (मंगलबार) प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री सिंहले समयमै नदी र खोलाहरूलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरू सरकारले गरिरहेको उल्लेख गरे। उनले अधिकारसम्पन्न बागमती सभ्यताबाट नदीहरू सफाइ गर्ने कार्य सुरु भइसकेको पनि जानकारी दिए।
अचानक आउने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले यस पटकदेखि सानो भए पनि तत्काल खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको उनले बताए।
"समयमै नदी र खोलाहरूलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ। त्यो सकारात्मक छ," उपप्रधानमन्त्री सिंहले भने, "हामीले अधिकारसम्पन्न बागमती सभ्यताबाट नै हामीले नदीहरू सफाइ गर्ने कार्य सुरु भइसकेको छ।"
उनले थपे, "अचानक बाढी आउँछ, पुलहरू ड्यामेज हुन्छन्, पहिला तत्काल प्रयोग गर्न बजेट थिएन। तर अहिले हामीले विपद् हुँदा त्यसलाई सम्बोधन गर्न बजेट राख्नुपर्छ भनेर सानो भए पनि सुरुवात गरेका छौँ। मनसुनबारे पूर्वसूचना अनुसार हामी मन्त्रालयबाट आवश्यक तयारीका काम सुरु गरिसकेका छौँ।"
उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामहरूबाट सिकेर अघि बढ्न जरुरी रहेको पनि बताए।