शीर्ष नेताले विश्राम लिए वर्तमानका आन्दोलन स्वतः हराउँछन् - गगन थापा [भिडियो]
देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू कांग्रेसमा दर्जनौँ छन्, नेपालको राजसंस्थालाई कहिल्यै पनि संवैधानिक बनाउन नसकिने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
1.3k
Shares
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
महामन्त्री थापाले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले आजैका दिनबाट आफ्नो तहबाट विश्राम लिने घोषणा गरेकै दिनदेखि अहिले भइरहेका आन्दोलनहरू स्वतः मत्थर हुने बताए। उनले गणतान्त्रिक संस्कृतिको कुरा गर्दा अहिलेको मुख्य समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको औँल्याए। राजनीतिक दलका नेताहरूले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या भएको उनको भनाइ छ।
"हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्यौँ। अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला। यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ," थापाले भने, "हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो। नेपालका ठूला पार्टीका ठूला नेताहरूले रेस्पेक्ट गर्छु म उहाँहरूलाई। आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ। भोलिबाट सबै घर फर्किन्छन्।"
यद्यपि, उनले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्याहरूलाई अझ राम्ररी बुझेर समाधान गर्न सकिने बताए।
महामन्त्री थापाले नेपालको राजसंस्थालाई कहिल्यै पनि संवैधानिक बनाउन नसकिने स्पष्ट पारे। उनले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताए। संवैधानिक राजसंस्था र राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने भन्दै, अहिलेको बहस नेपालमा कि राजतन्त्र रहन्छ कि गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्नेमा जोड दिए।
उनले राजतन्त्र पुनःस्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई मैदानमा उत्रिन चुनौती दिँदै, 'राजतन्त्र आएपछि के हुन्छ?' भन्ने प्रश्नको जवाफ चाहिने बताए। थापाले नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय बिताउँदा आफूहरूले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई पिल्लरका रूपमा विश्वास गरेको भए पनि, नेपालको राजसंस्था कहिल्यै राजावादी नभई राजतन्त्रवादी भएको निष्कर्षमा पुगेको उल्लेख गरे।
महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू काँग्रेसमा दर्जनौँ रहेको समेत दाबी गरे।
थापाले भने,' म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ । म के विश्वास गर्दछु भने उहाँ भन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’
उनले रोजगारीको समस्या अहिलेको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै, आजका प्रश्नको उत्तर दिन नसके मान्छे हिजो फर्किने चेतावनी दिए।