बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ - विनोद चौधरी [भिडियो]
विदेशमा लगानी गर्न चाहने नेपालीहरूले 'स्वेट शेयर' लिन पाउने व्यवस्था स्वागतयोग्य
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
770
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै सांसद चौधरीले व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको उल्लेख गरे।
उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले 'स्वेट शेयर' लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताएका छन्। चौधरीले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको जानकारी दिए।
सांसद चौधरीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, "विदेशमा लगानी गर्नका लागि आफ्नो सीप, आफ्नो मेहनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ। होटेलमा वर्षौंदेखि विद्युत महसुल बढी थियो। त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ। यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रूपमा लिएको छु। आईटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातावरण समेत यस बजेटले बनाइदिएको छ।"
समग्रमा, बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ।