सकारात्मक युवा नै समाज रुपान्तरणका नायक - उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
572
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताएका छन्।
बुधबार ललितपुरमा आयोजित नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वाभाविक प्रवृत्तिले रित्तिँदै गएको बताए।
सिंहले इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरूको साथ खोजिरहेको उल्लेख गर्दै, "सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छोडेर हिँड्नु हुनेछैन," भन्ने विश्वास व्यक्त गरे। उनले युगको नायक युवा नै भएको बताउँदै पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहका जनसंख्या ४२.५८ प्रतिशत रहेको जानकारी दिए।
उपप्रधानमन्त्री सिंहले युवालाई नेतृत्व विकास, उद्यमशीलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संलग्न गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए। उनले गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ गर्दै पारदर्शी प्रशासनका लागि आवश्यक प्राविधिक ज्ञान, सीप र दक्षतालाई अँगाल्न तयार रहेको बताए।
उनले समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा आवश्यक रहेकोमा जोड दिए। सिर्जना र साधनको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्याउन तत्पर रहने विश्वास पनि उनले व्यक्त गरे।