'देशमा केही भएन' भन्ने भ्रम फैलाउने फेसन बन्यो: उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
666
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा 'फेसन' जस्तो भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा उपप्रधानमन्त्री सिंहले 'अहिले के भयो र?', 'के भएको छ र?' जस्ता भाष्य बनाएर प्रजातन्त्रले के दियो भन्दै प्रश्न गर्ने काम भइरहेकोमा असन्तुष्टि जनाए। उनले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो भन्दै प्रश्न गर्दै, संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको बताए। नकारात्मक कुरालाई मात्रै प्रचार गर्ने काम भइरहेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे।
उपप्रधानमन्त्री सिंहले भने, “अहिले एउटा फेसन जस्तो के भयो र? के भएको छ र? यो प्रजातन्त्रले के ल्यायो र? के दियो र भन्छन्। त्यो के दियो? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो। प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको? संघर्ष गरेर अधिकार आयो। अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ। अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, एचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने। प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। लामो समयको त्याग, तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ।”
उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।