गुरुङको देउवाप्रति कटाक्ष:'रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नहुने बताएका छन्।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै गुरुङले राजनीतिमा 'के पाएँ, के गुमाएँ' भनेर औंला गनेर हिसाब गरेर बस्न नमिल्ने बताएका हुन्। उनले राजनीतिको गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्नेमा जोड दिए। पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक यात्रामा अटल खटाईकै परिणामस्वरूप पाँच पटक प्रधानमन्त्री बनिसकेको र अझै प्रधानमन्त्री बन्न सक्ने गुरुङले उल्लेख गरे। उनले दुःख र अटल यात्राले सम्भावनाका ढोकाहरू खुल्दै जाने बताए।
उपसभापति गुरुङले भने, “राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाब गरेर बस्ने होइन। राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो। आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो। लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ। त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो। हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ, को कहाँ पुग्यौँ, को कहाँ पुग्न सकेनौँ, त्यो तपशिलको विषय हो। राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो। मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो? त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन। राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो। हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्नुपर्दैन। त्यो उतारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ। रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो। भनेर हुन्छ, अझै बन्न सक्नुहुन्छ नि उहाँ। ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो नि त। त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो।”
गुरुङले राजनीति एक अविरल यात्रा भएकोले आँधीबेहरी चल्दा पनि त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने बताए।