दोलखाका किसान रित्तो धोक्रो बोकेर मल माग्न पुगे नगरपालिका
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
631
Shares
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका १ का किसान धोक्रो बोकेर नगरपालिका घेराउमा उत्रिएका छन् । मल नपाएको भन्दै किसानहरु नारा जुलुस गर्दै नगरपालिका पुगेका हुन् ।
उनीहरु वडाध्यक्ष माधव थामीसहित नारा जुलुस गर्दै मल माग्न नगरपालिका घेराउ गर्न पुगेका थिए । वडा १ का किसानहरुलाई मल वितरण गर्ने जिम्मा पाएको भिमेश्वर नगरपालिका २ नम्बर वडाको सिंहवन कृषि सहकारीले किसानको मल मनोपरी ढंगले अन्यत्र बिक्री गरेकोले किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
नगरका ९ वटा वडाका किसानलाई अनुदानको मल वितरण गर्न विभिन्न कृषि सहकारीहरु छनोट गरी सिफारिस दिने र तिनै सहकारीले काभ्रेको बनेपास्थित साल्ट ट्रेनिङ कर्पोरेशन र सिन्धुलीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडले किसानलाई अनुदानको युरिया र डिएपी मल वितरण गर्ने गरेका छन् ।
अनुदानको मल वितरणको जिम्मा पाएका अन्य कृषि सहकारीहरुले भने समयमा मल वितरण गरेपनि वडा नम्बर १ र २ को मल वितरण गर्ने सहकारीले भने त्यही नाममा किसानसँग ब्ल्याकमेलिङ गर्ने, समयमा वितरण नगर्ने र बजारमूल्य भन्दा धेरै शुल्क लिनेजस्ता गतिविधिहरु गर्दै आएको किशानको गुनासो छ ।