arrow

फर्किए स्वास्थ्यमन्त्री

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले डब्ल्युएचओमा लैजाँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
pradeep.jpg

काठमाडौँ । नेपालले बाहिरी मुलुकमा श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ।

बिहीबार विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसबारे जानकारी दिएका हुन्। उनले अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थितिलाई मध्यनजर गर्दै यो प्रस्ताव महत्त्वपूर्ण रहेको बताए। आगामी वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा नेपालले यसलाई आधिकारिक रूपमा पेस गर्ने तयारी गरेको छ। यस पटकको सम्मेलनमा नै नेपालले यसबारे जानकारी गराइसकेको छ।

मन्त्री पौडेलका अनुसार, यो प्रस्ताव डब्ल्युएचओबाट पारित भएमा श्रम भिसामा जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने स्थिति बन्नेछ। यसले उपचार नपाएर फर्कनुपर्ने, खर्चको अभावमा पूर्ण उपचार नहुने, कतिपयको मृत्युपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने र रोग बोकेर आउनुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ।

"खासगरी अहिले डब्ल्युएचओले महामारी भएको अवस्थामा जुन देश बढी प्रभावित हुन्छ, त्यो देशलाई डब्ल्युएचओबाटै आधिकारिक रूपमा सहयोग पुर्‍याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव सर्वसहमतिबाट पास गरेको छ। त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने स्थिति देखिन्छ," मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताए। उनले नेपालले लैजान लागेको प्रस्ताव डब्ल्युएचओका धेरै सदस्य राष्ट्रहरूका लागि आवश्यक रहेको जिकिर गरे। यस क्रममा छिमेकी मुलुक भारतका प्रतिनिधिहरूसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा दुई देशबीचमा सम्झौता गर्ने कुरा भएको उनले बताए। चीन, बेलायत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरूसँग पनि स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी मन्त्री पौडेलले दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ