विद्यालय शिक्षा विधेयक चाँडै टुंग्याउनुपर्नेमा शिक्षामन्त्री पन्तको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
380
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार विद्यालय शिक्षा विधेयकलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले समितिको बैठक छिटो-छिटो बसेर विधेयकलाई टुंग्याउनुपर्नेमा जोड दिए।
उनले विधेयकमा कतिपय सहमति हुन बाँकी रहेका विषयहरू राजनीतिक तहबाट सहमति खोज्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री पन्तले नटुंगिएका विषयहरूलाई थाँती राखेर पनि विधेयकको छलफल नरोकी अगाडि बढ्न आग्रह गरे।
"यो विधेयकलाई लम्ब्याऔँ भन्ने पक्षमा म पनि छैन। आइतबार, सोमबार कहिले बैठक राख्नुहुन्छ राख्नुस्। छलफल जारी राखौँ," उनले भने, "कतिपय विषयहरू राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने हुन्छ। त्यसमा मरिहत्ते नगरौँ। विषय टुंग्याउँदै जाऔँ। नटुंगिएका विषय थाँती राखेर अघि बढौँ। विधेयकको छलफल नरोकौँ।"
समितिको बैठकमा बोल्दै नेकपा (एमाले) सांसद तथा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक बनाउँदा विद्यार्थीप्रति उत्तरदायी भएर बनाउनुपर्नेमा जोड दिइन्। उनले विद्यालयको पूर्वाधारको अवस्थाप्रति सचेत रहन आग्रह गर्दै भौतिक पूर्वाधारका साथै मानवीय पूर्वाधारको पक्षलाई पनि हेरेर विधेयक बनाउनुपर्ने बताए।
भट्टराईले आजको विद्यालय शिक्षाको सिकाइमा सुधार ल्याउन जरुरी रहेको र शैक्षिक गुणस्तरका लागि सिकाइलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। "हामी कोप्रति उत्तरदायी हुने भन्नु कुरा महत्वपूर्ण हो। हामी उत्तरदायी विद्यार्थीप्रति हुने हो," उनले भनिन्, "अहिले पनि विद्यालयको पूर्वाधारको अवस्था के छ, त्यो पूर्वाधार व्यवस्थित गर्न आवश्यक छ। भौतिक पूर्वाधारको कुरा मात्रै गर्छौं। मानवीय पूर्वाधारको पक्ष आज पनि धेरै प्रश्नचिन्हभित्र छ।"