आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथमिकता राख्न महासङ्घका अध्यक्ष ढकालको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
475
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई बजेटको प्राथमिकता राख्न आग्रह गरेका छन्।
नेपाल निर्यात व्यवसायी महासङ्घ (फिन) को पाँचौँ वार्षिक साधारण सभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन आवश्यक रहेको बताए।
उनले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पस्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवर्द्धनमा सहयोग गर्ने गरी बजेटमा सम्बोधन हुनु पर्ने बताए।
यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरी खनिज जन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिए। “हामीले लामो समय देखि खनिज जन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौँ। एक दुई पटकको बजेटमा त्यो विषय आयो पनि। तर कार्यान्वयन भएन। वातावरणमा प्रतिकुल असर नपर्ने गरी हामीसँग भएको खनिज जन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्न सहयोग गर्छ। म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकता राख्न आग्रह गर्दछु ” उनले भने।
यस्तै उनले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरूलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गरे।
निर्यात प्रवर्द्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासङ्घले फिनजस्ता वस्तुगत सङ्घहरूसँग सधैँ सहकार्य गर्ने धारणा राखे। अध्यक्ष ढकालले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासङ्घले पहल गरिरहेको समेत बताए।