ढोरपाटन (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि खोजतलास प्रक्रिया शुरु भएको छ। खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि विकप्लस मिनिलर प्रालीले खानी क्षेत्रमा अध्ययन थालेको हो।
तमानखोला क्षेत्रमा दर्जनौं तामाखानी रहेका छन्, जुन विसं १९८१ सम्म सञ्चालनमा थिए। सरकारले करको दायरामा ल्याएपछि ती खानीहरू बन्द भएका थिए। खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि २०८४ असोज १४ गतेसम्म अनुमति दिएसँगै खानीको सम्भाव्यता अध्ययन शुरु भएको हो।
विकप्लस मिनिलर प्रालीका भूर्गवशास्त्री बलराम कार्कीका अनुसार नर्जाखानीका विभिन्न स्थानमा तामाको सतह देखिएको छ। उत्खननको सम्भावना अध्ययनका लागि तीन चरणको अनुसन्धान गरिने र नतिजा सकारात्मक आए उत्खनन प्रक्रिया अघि बढाइने उनले बताए। कार्कीले अबको एक वर्षभित्र तीनै चरणको अध्ययन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। हाल प्राविधिक टोली खानी क्षेत्रमा अध्ययनमा जुटेको छ।
भूर्गवशास्त्री कार्कीले भने, “अनुसन्धानका धेरै चरण हुन्छन्, अहिले पहिलो चरणको ‘जियोफिजिक सर्भे’ भइरहेको छ। यसबाट राम्रो नतिजा आए टेस्ट ड्रिलिङ र त्यसपछि फाइनल ड्रिलिङ गर्छौं। सकारात्मक नतिजा आए उत्खनन प्रक्रिया शुरु हुन्छ।” उनले उत्खननका लागि २० देखि २२ अर्ब रुपैयाँसम्म लगानी लाग्न सक्ने र लगानी अनुसार खानी सञ्चालन गर्न सकिने अवस्था छ कि छैन भन्ने विषयमा खोजतलास भइरहेको बताए।
तमानखोलाको नर्जाखानी, भित्रीवन र पात्लेगाउँका धेरै ठाउँमा तामाखानीका पुराना शुरुङ र अवशेषहरू अहिले पनि देख्न सकिन्छ। बन्द भएका खानी उत्खननका लागि अध्ययन शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्र छन्त्यालले पुर्खाहरूले प्रयोग गरेको खानी उत्खनन भए गाउँलेको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयको प्रयासपछि तामाखानीको अध्ययन शुरु भएको र अहिलेसम्म अध्ययन सकारात्मक देखिएको बताए।