नेपालमा केही भएन भन्नेहरू देश विरोधी- ऊर्जामन्त्री खड्का
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
691
Shares
सिन्धुपाल्चोक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही पनि विकास निर्माणको काम नभएको भन्दै भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमनका क्रममा मन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन्। उनले नेपालमा नकारात्मक कुरा मात्रै प्रचार गर्ने एउटा समूह नै सक्रिय रहेको दाबी गरे।
मन्त्री खड्काले देश आफ्नै प्रयासले बन्ने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा केही भएन भनेर नेपालको अर्थतन्त्रलाई कमजोर बनाउन खोज्ने तत्वहरूप्रति सचेत रहन आग्रह गरे। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिप्रति सरकार गम्भीर रहेको उनले बताए। २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा भएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री खड्काले इन्द्रावती गाउँपालिकास्थित भीमटारका २२ वटा टारमा इन्द्रावती नदीको पानी लगेर सिंचाई सुविधा पुर्याउन विस्तृत परियोजना अघि बढाइएको जानकारी दिए। उक्त टारहरूमा सिंचाई सुविधा पुगेपछि सिन्धुपाल्चोक जिल्लालाई खाद्यान्नका लागि अन्यत्र धाउनु नपर्ने विश्वास उनले व्यक्त गरे। काठमाडौं उपत्यकाले सिन्धुपाल्चोककै कारण पानी पाएको भन्दै काठमाडौंवासीलाई सरकारसँग थप मागदाबी गर्ने अधिकार रहेको धारणासमेत उनले राखे।