विदेशबाट छोराछोरीको निर्देशनमा अभिभावकको भोट - गोपालमान श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
858
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीले दिएको सुझावअनुसार नै नेपालमा परिवारले मत दिन संस्कार विकास भएको बताएका छन् । नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्नु भन्यो त्यही पार्टीको चुनाव चिन्हमा बाबुआमाले मतदान गर्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको बताए ।
नेपालको कूल युवा जनसङ्ख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले नेपाली कांग्रेसको जनसम्पर्क समितिले उनीहरूसँग सम्पर्क बढाउनुपर्ने बताए । पञ्चायती व्यवस्थामा पासपोर्ट नबन्ने भएकाले विदेश जाने प्रायः असम्भव हुने गरेको उनको भनाइ छ । उनले नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालीहरू अध्ययन, रोजगारी तथा विभिन्न अभिप्रायले विदेश जाने वातावरण निर्माण भएको बताए ।
उनले भने, ‘पञ्चायतको बेलामा विदेश जाने भनेको अर्कै कुरा थियो, सोच्नै नसक्ने अवस्था थियो । पासपोर्ट व्यवस्थै थिएन भने पनि हुन्छ । डेमोक्रेसी आयो पासपोर्ट बन्यो, कोही विद्यार्थी भिसामा कोही वर्किङ भिसामा गरेर अहिले संसारभर अमेरिकादेखि युरोप, जापान, खाडी मुलुकमा फैलिएर बसेको छ । हाम्रा नेपाली युवाहरु करिब २५ प्रतिशत भन्दा बढी विदेशमा छन् । र जनसङ्ख्याको ठूलो अंश विदेशमा छ । यो जनसम्पर्क समितिले राम्रोसँग ठाउँ ठाउँमा जनसम्पर्क समितिले राम्रो अर्गनाइज गर्यो भने यसको प्रतिफल अत्यन्त राम्रो हुन्छ भन्ने मैले देखेको छु । गत चुनावहरूमा के देखियो भने छोराहरूले जे निर्देशन गर्यो किनभने उसले पैसा पठाइ दिन्छ, हातमुख जोड्छ घरको श्रीमती होस् आमा होस् बाबु होस् त्यो बाहिरबाट जे निर्देशन आउँछ त्यही निर्वाचन चिन्हमा भोट हाल्ने प्रक्रिया पनि चलेको छ । समस्या सबै ठाउँमा छ होला । हाम्रो जनसम्पर्क समिति अमेरिका युरोप, जापान, खाडी मुलुक सबै ठाउँमा फैलिएको छ । यो जनसम्पर्क समितिले राम्रो सम्पर्क गरेर भविष्यमा हुने निर्वाचनमा हाम्रो पार्टीको समर्थनमा जनमत तयार गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्छु ।’