छ खेलअघि नै पीएसजीले जित्यो १३ औँ पटक लिग वानको उपाधि
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
635
Shares
काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले कीर्तिमानी १३औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । सन् २०११ मा कतारी समूह क्यूएसआईले क्लबको स्वामित्व लिएपछि पीएसजीको यो ११औं फ्रेन्च लिग उपाधि हो।
बाँकी दुई उपाधि क्लबले सन् १९८६ र १९९४ मा जितेको थियो । शनिबार एन्जर्सलाई १–० ले पराजित गर्दै अझै ६ खेल खेल्न बाँकी छँदै पीएसजीले उपाधि जितेको हो ।
अपराजित रहँदै २८ खेलबाट ७४ अङ्क जोडिसकेको पीएसजीका लागि पार्स दे प्रिन्स स्टेडियमको घरेलु मैदानमा शनिबार राति डेजिरे डुएले पहिलो हाफमै गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
स्पेनिश प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको पीएसजीले आगामी मे २४ मा हुने फ्रेन्च कपको फाइनलमा रिम्सलाई पराजित गर्न सके दोस्रोपटक लगातार दुई उपाधि (फ्रेन्च लिग र फ्रेन्च कप) जित्ने लक्ष्य पूरा गर्नेछ।
फ्रेन्च लिगको अन्य खेलको नतिजा
नान्तेसले निसलाई उसकै मैदानमा २–१ ले हरायो । ब्रेस्टले एएस मोनाकोलाई २–१ ले हरायो । त्यस्तै लियोँले लिलेलाई २–१ ले हरायो ।
आजका खेल
आज साँझ ६ः४५ बजे लेन्सले सेन्ट इटिन्नेसँग खेल्नेछ । राति ९ बजे मोन्टपिलरले ले हाभ्रेसँग, रिम्सले स्टार्सबर्गसँग तथा रेन्नेसले एक्सएरेसँग खेल्नेछ ।
अंक तालिका
लिगमा २८ खेलबाट ७४ अंकसहित पीएसजीले उपाधि जितिसकेको छ । दोस्रो स्थानको एएस मोनाकोको २८ खेलमा ५० अंक छ । २७ खेलबाट मार्सेको ४९ अंक छ । लियोँको २८ खेलबाट ४८ अंक छ भने निसको २८ खेलबाट ४७ अंक छ । त्यस्तै लिलेको २८ खेलबाट ४७ अंक छ । १८ टिम रहेको लिग वानमा अन्तिम दुई टिम रेलिगेशनमा पर्नेछन् ।