arrow

अन्तिम खेलमा मेस्सीले पारे निराश, अबको यात्रा कता ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
messi-psg-last-game-2023-06-04.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा एक खेलअघि नै च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम खेलमा भने पराजित भएको छ । आइतबार बिहान सम्पन्न सिजनको अन्तिम खेलमा पीएसजीलाई क्लेमन्ट फुटले ३–२ गोल अन्तरले हरायो । 

क्लर्मन्टको जितमा जोन गस्टिन, मेहदी जिफाने र ग्रेजोन केईले एक एक गोल गरे । पीएसजीका लागि सर्जियो रामोस र केलियन एमबाप्पेले एक एक गोल गरे ।

यसै खेलबाट लियोनल मेस्सी र सर्जियो रामोसले पीएसजीका लागि अन्तिम खेल खेले । दुवै खेलाडीले पीएसजी छाड्ने घोषणा गरिसकेका छन् ।

यस जितले क्लर्मन्टले ३८ खेलमा ५९ अंक जोडेर आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

पीएसजीले ८५ अंक जोडेर शीर्ष स्थान कब्जा गर्दै उपाधि जित्यो । 

यसअघिको खेलमा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउन सफल कप्तान मेस्सीले गोल गरेरै पीएसजीलाई उपाधि दिलाएका थिए । तर अन्तिम खेलमा भने मेस्सीले निराशा दिलाए । 

उनका प्रशंसकहरु भने शानदार बिदाई भएको हेर्न चाहिरहेका थिए । 

यसअघि पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका थिए । शनिबार रातिको खेल नै मेस्सीको अन्तिम खेल थियो । 

लेन्स ८४ अंकसहित दोस्रो स्थानमा रहेर पीएसजीसँगै च्याम्पियन्स लिग खेल्न पाउने भयो । ७३ अंकसहित तेस्रो भएको मार्सेले च्याम्पियन्स लिग छनोट खेल्नेछ । 

चौथो भएको रेन्नेसले युरोपा लिग खेल्न पाउँदा पाँचौ भएको लिलीले युरोपा कन्फरेन्स लिग छनोट खेल्नेछ । पुछारको चार स्थानमा रहेका अक्सेरे, एसी एजासियो, ट्रोयेस र एनजर्स रेलिगेशनमा पर्दै बाहिरिएका छन् । 

कहाँ जान्छन् मेस्सी ?

उनलाई पुरानै क्लब स्पेनिश क्लब बार्सिलोना वा साउदी क्लब अल हिलाल वा डेभिड बेहक्यामको इन्टर मियामीमध्ये एक हुन सक्ने अनुमान भइरहेको छ । 

दुई वर्षअघि बार्सिलोना छाडेर मेस्सी पीएसजी गएका थिए । च्याम्पियन्स लिग जिताउन नसकेका उनले पीएसजीलाई लिग वानको उपाधि भने दिलाएका छन् । 

क्लबले भने उनलाई च्याम्पियन्स लिग जिताउनकै लागि भित्र्याएको बताएको थियो । मेस्सीसँग फ्रेन्च खेलाडी केलियन एम्बाप्पे र ब्रजिलियन खेलाडी नेयमारले पीएसजीबाट ड्रेसिङ रुम साझेदारी गरेका थिए । 

केही साताअघि उनी साउदी र स्पेनको भ्रमणमा रहेका थिए । सोही कारण पनि यी दुईमध्ये एक देशमा उनले करियरको अन्तिम ब्यवसायीक खेल खेल्न सक्ने अनुमान गरिएको छ । 

३५ वर्षे मेस्सी जहाँ गए पनि प्रभाव उत्तिकै पर्नेछ । पीएसजीमा भने ७२ खेलबाट उनले मात्र ३२ गोल गरेका थिए । 

तर मेस्सीले गत शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीलाई एक खेलअघि नै नै लिग वानको उपाधि पक्का गराएका थिए । 

सो खेलमा ५९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।

केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । मेस्सीको यो युरोपको शीर्ष पाँच लिगमा ४९६ औं गोल हो । उनले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ