कीर्तिमानी ट्रफी र अंकसहित पीएसजीलाई लिग वानको उपाधि
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
609
Shares
काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा कीर्तिमानी ट्रफी र अंकको जितसहित उपाधि जितेको छ ।
शनिबार लिग वानको जारी सिजनको अन्तिम दिन पेरिसमा पीएसजीले आफ्नो उपाधि विजयको उत्सव घरेलु मैदानमा औक्सेरविरुद्ध ३–१ को जितका साथ मनाएको हो ।
पीएसजीले १३ औँ पटक लिग वानको उपाधि जित्दै रेकर्ड बनाएको हो । उसले ६ खेलअगाबै उपाधि पक्का गरिसकेको थियो ।
८४ अंकसहित पीएसजीले ३४ खेलको लिग सिजनमा सबैभन्दा धेरै अंक बटुल्ने नयाँ कीर्तिमान बनायो । यसअघि १९६९–७० मा सेन्ट–एटिएनले ८१ अंक बनाएको थियो ।
अब पिएसजीको नजर इतिहासमै पहिलो पटक उपाधि ह्याट्रिक गर्ने लाइनमा रहेको छ । उसले मे २४ मा फ्रेन्च कपको फाइनलमा रिम्ससँग खेल्नेछ भने मे ३१ मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
यता फ्रान्सको ऐतिहासिक क्लब सेन्ट–एटिएन लिग २ मा झरेको छ । घरेलु मैदान स्टाड ज्योफ्रोय–गिशारमा भएको खेलमा सेन्ट–एटिएनले टुलुजसँग ३–२ को हार बेहोरेको हो । सन् १९६० र ७० को दशकमा फ्रेन्च फुटबलमा दबदबा जमाएको सेन्ट–एटिएन अब लिग २ मा फर्किएको छ । अंक तालिकामा पुछारमा रहेको मोन्पेलिए पनि रेलिगेसनमा परेको छ ।