तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
659
Shares
काठमाडौँ । नेपाली कांग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निष्कर्ष निकालेको बताए ।
उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर घटना गराइएकाले यसको जिम्मेवारी पनि पूर्वराजाले नै लिनुपर्ने बताए । उनले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने भनिए पनि उनीहरूले तोडफोड र हिंसात्मक गतिविधि गरेर अराजकता सिर्जना गरेको आरोप लगाए । उनले प्रदर्शनकारीले सुनियोजित रूपमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने रणनीति लिएको उनको दाबी गरे ।
उनले भने, ‘एउटा निरङ्कुश शासनतर्फ लाने मनसायका साथ यो घटना घटेको छ । सिधै यहाँ यहाँ आक्रमण गर्ने भनेर त्यहाँ घोषणा भएको छ । ठूलो निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिको क्षति भएको छ । दुई जना व्यक्तिको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा जसको आयोजनमा समिति गठन भयो र त्यसले त्यो अयोजना गर्यो, सिधै जुन शान्तिपूर्ण तरिकाबाट प्रस्तुत हुन्छौँ भनेका थिए त्यसको विपरीत तोडफोड आगजनी गरेर एउटा असुरक्षा र अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै सत्ता कब्जा गर्ने जुन मनसायले जाने उहाँहरुको लक्ष्य देखियो जसको जिम्मेवारी उनले लिनुपर्छ भन्ने बैठकको निष्कर्ष निकालेको छ ।’
प्रवक्ता महतले जनधनको क्षति पुर्याउने गतिविधिमा संलग्न सबैलाई कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए ।