काठमाडौंमा आज दुई शक्ति प्रदर्शन : गणतन्त्रवादी र राजावादी आमनेसामने, सुरक्षा व्यवस्था कडा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
1k
Shares
तस्बिर फाइल
काठमाडौं । आज काठमाडौं उपत्यकाको राजनीतिमा फरक धार बोकेका दुई समूहहरूले एकै दिन शक्ति प्रदर्शन गर्ने भएका छन्। गणतन्त्रको पक्षमा रहेका समाजवादी मोर्चा र राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै आन्दोलित समूहले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने भएका हुन्।
गणतन्त्रवादी प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछ। मोर्चाले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सुनधारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने र ती जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुने जनाएको छ।
राजावादी प्रदर्शन नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर तीनकुनेमा प्रदर्शन गर्नेछ। प्रशासनले राजावादी समर्थकहरूलाई रिङरोडबाहिर मात्र जुलुस निकाल्न अनुमति दिएको छ।
दुई फरक विचारधारा बोकेका समूहहरूले एकै दिन प्रदर्शन गर्न लागेकाले प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।