राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल शुरू गर्न चम्लागाईंको माग
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
3.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमा भएको मतदानको मतगणना तत्काल गर्न अध्यक्षका उम्मेदवार माधवप्रसाद चम्लागाईंले माग गरेका छन् ।
नेतृत्व परिवर्तनका लागि मतदान भएको १८ घण्टा बितिसक्दासमेत मतगणनाको प्रक्रिया थालनी नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले तत्काल मतगणनाको प्रक्रिया थाल्न माग गरेका हुन् ।
आइतबार दिउँसो २ बजेपछि विज्ञप्ति जारी गर्र्दै उनले जिम्मेवार निकाय निर्वाचन समिति, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ निर्देशन समिति र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउँदै तत्काल मतगणना गरी नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।
चम्लागाईंले विज्ञप्तिमा मतदान शनिबार राति ८ बजे सम्पन्न भए पनि आइतबार दिउँसो २ बजेसम्म मतगणनाको कुनै प्रक्रिया शुरु नहुनु दुःखद भएकोसमेत जनाएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘लोकतान्त्रिक पार्टीमा मतदान भइसकेपछि मतगणना गरी नतिजा सार्वजनिक गर्नुपर्छ । मतदान गर्ने मतदाताले आफ्नो अमूल्य मतको बारेमा जानकारी पाउनु अधिकारको विषय हो । तसर्थ मतगणनामा भएको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल मतगणना गरी नतिजा सार्वजनिक गर्न माग गर्दछु ।’
उनले विज्ञप्तिमा अगाडि लेखेका छन्, ‘शनिबार बिहान १० बजे नै मतदान गर्ने निर्वाचन समितिले कार्यतालिका बनाएको भए पनि विभिन्न असमझदारी चिर्दै अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म मतदान भएको थियो । कतिपय साथीहरु मतदानमा ढिलाइ भएपछि मतदान नै नगरी घर फर्कनु परेकोप्रति दुःखी छु । तैपनि ८९२ मतदातामध्ये ४७० मत खसेको छ ।’
चम्लागाईंले मतदानलाई असर पार्न पार्टी कार्यालयभित्रै विभिन्न अमर्यादित गतिविधि भएकोप्रतिसमेत आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘मतदानलाई असर पार्न र मतदातालाई प्रभावित गर्न कतिपय जिम्मेवार साथीहरुले निर्वाचन विथोल्ने नियतले आफ्नै पार्टीको बीपी स्मृति भवनमै भौतिक संरचना तोडफोड गर्न उत्रेको घटनाप्रति दुःखी छु । आम नेपाली कांग्रेसका कार्यकर्ता, लोकतान्त्रिक अपाङ्ग संघका कार्यकर्ताहरुसमेत यो घटनाले चिन्तित भएका छन् ।’
उनले अगाडि स्पष्ट पार्दै लेखेका छन्, ‘विद्युतीय मतदान हुनुपर्छ भन्नेमा मेरो पनि माग थियो । तर पार्टीको आर्थिक तथा प्राविधिक कारणले गर्दा हुन नसकेकोमा दुःखी छु । दृष्टिविहीनहरुका लागि इच्छाएको व्यक्तिको सहयोगमा मतपत्रमै मतदान गर्ने सहमति भएपछि मतदान प्रक्रिया शुरु भएको थियो ।’
जिल्ला जिल्लाबाट मतदानकै लागि भनेर काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरु कोही ढिलाइका कारण मत नदिइ फर्कनुपर्ने अवस्था र कतिपयले मत दिएपछि नतिजा कुर्नुपर्ने अवस्था आउनु दुःखद भएकोसमेत चम्लागाईंले बताएका छन् ।
उनले लेखेका छन्, ‘मतदाता साथीहरु मतगणना भएपछि नतिजा सुनेर घर फर्कन आतुर रहनु भएको छ । मतगणना किन रोकिएको छ भनेर अहिलेसम्म निर्वाचन समितिले कुनै जानकारी नदिँदा आम साथीहरुको मन दुःखेको छ । उहाँहरुले आफूहरु कहिलेसम्म कुरेर बस्ने भन्दै प्रश्न गरिरहनु हुन्छ । मसँग यसको जवाफ छैन । तसर्थ यसका लागि मतगणना तत्काल थाल्न पनि म निर्वाचन समिति, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ निर्देशन समिति र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गर्न चाहन्छु । मतगणनाको नतिजा जस्तोसुकै किन नआओस् म अपाङ्गता भएका साथीहरुको हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
नेतृत्वका लागि चम्लागाईंसँगै विकास थापा र कल्पना खड्का रहेका छन् । पार्टी मुख्यालय स्रोतका अनुसार थापा र खड्कासमेत निर्वाचन विथोल्न तोडफोडमा उत्रिएका थिए ।