arrow

कांग्रेसलाई 'अर्लि' महाधिवेशनबाट  पुनर्जीवन दिन सकिन्छ : राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
loktantrik-apanga-sangh.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पार्टीलाई अग्रगामी निर्णयबाट युवाको नेतृत्वमा पुस्तान्तरण गर्न माग गरेको छ । संघको बुधबार बसेको केन्द्रीय समिति, प्रदेश अध्यक्षहरू र पदाधिकारी र जिल्ला अध्यक्षहरूबीच  सम्पन्न भर्चुअल बैठकले पछिल्ला राजनीतिक घटना र पार्टीभित्र आवश्यक रूपान्तरणबारे गहन छलफल गरी पार्टी नेतृत्वलाई अग्रगामी निर्णयबाट 'अर्लि' महाधिवेशन गरी युवाको नेतृत्वमा पुस्तान्तरण गर्न सुझावको रूपमा पठाउने निर्णय गरेको हो । यसबाट नै कांग्रेसको पुनर्जीवन दिन सकिनेसमेत संघको ठहर छ ।

बैठकले जेन-जी आन्दोलनमा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नेतालगायत सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आन्दोलनका क्रममा भएका तोडफोड र हिंसात्मक गतिविधिको घोर भर्त्सना गर्दै समस्या समाधानको बाटो शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक प्रक्रियामार्फत मात्र सम्भव हुनेमा संघले जोड दिएको छ।

त्यस्तै बैठकले भ्रष्टाचार, बेथिति, सुशासनको अभाव र जनअपेक्षाअनुसार काम हुन नसक्दा उत्पन्न जनआक्रोशलाई गम्भीर राजनीतिक चेतावनीका रूपमा स्वीकार गर्दै नागरिकहरूमा उत्पन्न पीडा र निराशाप्रति क्षमायाचना गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा 'पार्टीलाई अग्रगामी निर्णयबाट युवाको नेतृत्वमा पुस्तान्तरण गर्नु अपरिहार्य भएको छ,  संविधानको मर्मअनुसार व्यापक जनसहभागिता र समावेशिता सुनिश्चित गरी समयसापेक्ष रूपान्तरण र सक्षम नेतृत्व निर्माण गर्न ढिला गर्न नहुने बैठकको ठहर छ', भनिएको छ ।

कांग्रेसलाई वडा तहदेखि केन्द्रीय तहसम्म पुनःनिर्माण, पुनःसंरचना र रूपान्तरणका लागि तत्काल ठोस कदम चाल्न  नीतिगत सुधार आवश्यक रहेको बताउँदै संघले तुरुन्तै अर्लि इलेक्सन वा विशेष महाधिवेशन मार्फत पार्टी सुधार प्रक्रिया शुरू गर्नुपर्नेमा जोड दिएको छ। यसले पार्टीलाई युवापुस्ताको आशा र भरोसाको केन्द्र बनाउन मद्दत गर्ने विश्वास बैठकले लिएको छ ।

त्यसैगरी संघले क्षमता, योग्यता , पार्टीमा योगदान र क्रियाशीलताको आधारमा समान अवसर र समावेशिता सुनिश्चित गर्ने, प्रमुख पदमा दुईपटकभन्दा बढी अवसर नदिने, आन्तरिक लोकतन्त्र र पारदर्शिता संस्थागत गर्ने नीति अवलम्बन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ । 

जनतामुखी कांग्रेस निर्माणका लागि गाउँ–वस्ती र घर–घरमा पुगेर पार्टीले विश्वास पुनःस्थापित गर्नुपर्ने  अपाङ्ग संघको निष्कर्ष छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ