राजनीतिक अधिकारको लडाइँदेखि राज्यसत्तामा 'हस्तक्षेप' सम्म
माधवप्रसाद चम्लागाई,
प्रकाशित २०८२ चैत ११ बुधबार
935
Shares
हार्दिक आभार तथा कृतज्ञता !
नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नेतृत्व सम्हालेको आज ठिक एक वर्ष पूरा भएको छ। यो केवल समयको गणना होइन, अपाङ्गता भएका व्यक्तिहरूको 'राजनीतिक अस्तित्व' र 'अधिकारमुखी आन्दोलन' मा हासिल गरिएको एउटा गौरवपूर्ण उपलब्धि हो। अध्यक्षको रूपमा यो अवधिमा हामीले गरेका केही ऐतिहासिक उपलब्धिहरू स्मरण गर्न चाहन्छु।
१. ऐतिहासिक विधान संशोधन: वडादेखि केन्द्रसम्म अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित
हाम्रो सबैभन्दा ठूलो र गौरवपूर्ण उपलब्धि पार्टीको विशेष महाधिवेशनमार्फत विधानमा गरिएको 'युगान्तकारी संशोधन' हो। अनिवार्य प्रतिनिधित्व: हाम्रो कठोर पैरवीका कारण अब वडा तहदेखि केन्द्रीय समितिसम्म र १६५ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको रूपमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित भएको छ। नेपाली कांग्रेसले हाम्रो राजनीतिक ओजलाई ऐतिहासिक रूपमा स्वीकार्दै विधानमा प्रतिनिधित्व सुनिश्चित गर्नु एउटा ठूलो उपलब्धिको रुपमा लिएको छु।
२. सर्वोच्चको फैसला: बन्द सूचीको 'टोकनिजम' विरुद्धको कानूनी विजय
राजनीतिक दलहरूले बन्द सूचीमा नाम राख्ने तर निर्वाचित नगर्ने प्रवृत्तिको अन्त्य गर्न म लगायतका साथीहरूले सर्वोच्च अदालतको ढोका ढक्ढक्यायौँ।
ऐतिहासिक अन्तरिम आदेश: हाम्रो कानुनी लडाइँकै बलमा सर्वोच्चले निर्वाचन आयोगलाई ऐतिहासिक आदेश दियो, जसका कारण आज संघीय संसदमा विभिन्न दलबाट चार जना साथीहरू निर्वाचित हुनुभएको छ। यसले हाम्रो 'संवैधानिक हक' लाई व्यवहारमै स्थापित गरेको छ।
३. विशेष महाधिवेशन: नीतिगत नेतृत्व र सांगठनिक सामर्थ्य
नेपाली कांग्रेसभित्रका कुनै पनि संरचनाले संस्थागत निर्णय गर्दै पहिलोपटक 'विशेष महाधिवेशन' को आवश्यकता बोध गराउँदै पार्टीलाई सुझाव गर्ने साहसिक निर्णय हाम्रो संघले गर्यो।
सचिवालयमा सामर्थ्य: विशेष महाधिवेशनको तयारीका क्रममा सचिवालयमै बसेर हाम्रा साथीहरूले प्रदर्शन गरेको उच्च कार्यक्षमताले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा 'प्याराडाइम सिफ्ट' ल्याएको छ। यसले हामी केवल कोटाका पात्र होइनौँ, 'क्षमताका पर्याय' हौँ भन्ने पुष्टि गरेको छ।
निष्कर्ष: एकता, खबरदारी र अबको गन्तव्य
संस्थाभित्रका कतिपय आन्तरिक मतभेदहरूलाई 'रणनीतिक मौनता' र संवादमार्फत न्यूनीकरण गरिएको छ। अब हाम्रो ऊर्जा व्यक्तिगत आग्रह-पूर्वाग्रहमा होइन, सामूहिक हित र संस्थागत सुदृढीकरणमा केन्द्रित हुनेछ।
यो सफलताको श्रेय राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको सिङ्गो कार्यसमिति, सल्लाहकारज्यूहरू, देशभरका तहगत संरचनामा रहेका साथीहरू साथीहरू, शुभेच्छुक र हामीलाई सही बाटोमा हिँड्न बाध्य बनाउने 'आलोचक' हरूलाई जान्छ। तपाईंहरूको खबरदारी नै हाम्रो सफलताको मुख्य इन्धन हो। हाम्रो यात्रा रोकिँदैन—आर्थिक सशक्तीकरण र राज्यका हरेक तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित भई समाज र परिवारभित्रै सहज जीवन सुनिश्चित नभएसम्म यो 'मिसन' जारी रहनेछ । (चम्लागाई राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष हुन् )