त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माण वैशाख भित्रै सकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
949
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताएका छन् । बिहीबार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुगेका उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताए ।
उनले त्यसका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको बताए । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्न सके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘वैशाख २४ गतेको मितिभित्रै काम पूरा गर्न तीव्र गतिका साथ काम अघि बढिरहेको छ । हाम्रो चाहना वैशाख २४ गते नै सम्झौताअनुसारको निर्माण कार्य पूरा भएर उद्घाटन गर्न पाए राम्रो हुन्छ । त्यही अनुसार काम हेरौँ भनेर आएको हो । यस्ता स्टेडियमहरु हामीले ठाउँ ठाउँमा बनाइरहेका छौँ । समयमै सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्न सके नेपालमा पनि गर्न सकिने रहेछ भनेर देखाउन सक्छौँ । तीन चरणमा युद्ध स्तरमा काम भइरहेको छ । समयमै सकिने विश्वास मलाई छ ।’
निरीक्षणका लागि पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गरे । उनले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिए ।
२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको मन्त्री द्वयको भनाइ छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रङ्गशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।