नेपाल-चीनबीच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक - सभामुख [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
681
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा रहेका लगानी सम्भावनाहरूलाई सही रूपमा पहिचान गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नयाँ परियोजनाहरूलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रही आएको बताए ।
बीआरआई मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । बीआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा लिनुपर्ने बताए । सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । नेपाल-चीन सम्बन्ध केबल व्यावसायिक वा आर्थिक सहयोगमा सीमित नरहेको भन्दै सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध बिस्तार भइरहेको बताए ।
सभामुख घिमिरेले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रही आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको छ । यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रूपमा लिनुपर्छ । नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रूपमा स्थापित हुनसक्छ । यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ । नेपाल-चीन सम्बन्ध केबल व्यावसायिक वा आर्थिक सहयोगमा सीमित छैन, सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि उल्लेख्य योगदान पुर्याउन सक्छ । नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ । नेपालमा रहेका लगानी सम्भावनाहरूलाई सही रूपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनाहरूलाई प्राथमिकता दिनुपर्छ ।’
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने जिकिर गरे । नेपाल-चीन बीचको भौगोलिक, सांस्कृतिक र जनस्तरको सम्बन्धले दुई पक्षीय सम्बन्धलाई झनै बलियो बनाएको बताए ।