भूराजनीतिक अवसरको उपयोग गर्न राजनीतिमा परिवर्तन आवश्यक - मिनेन्द्र रिजाल [भिडियो]
संविधान भित्रैबाट विकल्पको राजनीति खोज्न सकिन्छ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
634
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महसुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताएका छन् । उनले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैँ विकल्पको राजनीति खोज्नु पर्ने बाध्यता हुने बताए ।
उनले नेपालमा भारतलाई खुशी बनाएर वा घुर्क्याएर सत्तामा पुग्ने गरेको भन्दै नेपाली राजनीतिलाई कारोबारी राजनीतिको संज्ञा दिए । नेपालले चीन वा भारतको नजिक वा टाढा भन्दा पनि भूराजनीतिक हिसाबले आफ्नो राजनीतिक प्रणालीमा दृढसङ्कल्पित हुनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘आजको जिओ पोलिटिक्समा के भएको छ ? सकेसम्म भारत खुशी बनाएर सत्तामा बस्ने, नसके भारत घुर्क्याएर सत्तामा जाने अनि केही गरी पार लागेन भने चीनतिर पस्ने । आजको कारोबारी राजनीति त्यही हो नि त । त्यो कारोबारी राजनीतिमा बसेर भारत र चीनको महत्त्व जसरी बढेको छ दुनियाँमा, त्यसैले सिर्जना गरेको डा.बाबुराम भट्टराईले भनेको जस्तो हामी लिन्ट अथवा बेज हुनलाई त हाम्रो हठले दिँदैन होला नि त । हाम्रो हठ त बलियो बनाउनु पर्छ होला त । हाम्रो जियो पोलिटिक्सलाई नाभिकेट गर्न सक्ने त बनाउनु पर्ला नि त । त्यो क्षमताबारेमा चीन र भारतको महत्त्व बढ्दै गएको छ, बढ्दै जाने छ । त्यसभित्र नेपालले जुन अवसरहरू प्राप्त गरेको छ । त्यो अवसरलाई महसुस गर्नका लागि हामीले हाम्रो राजनीति गर्ने ढङ्ग त बदल्नु पर्ला नि । त्यो नबदल्यौँ भने अन्तर्राष्ट्रिय कारणले होइन हाम्रा घरेलु कारोबारी लोभका कारणले राजनीति सधैँ गिजोली रहन्छ र विकल्पको राजनीति खोजी रहनु पर्ने हुन्छ ।’