arrow

स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकता : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
chandra-dhakal-labor-conference-2025.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथमिकता हुनु पर्ने बताएका छन्।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा अन्य विभिन्न सङ्घ संस्थाहरूको सह आयोजना एवं सहयोगमा काठमाडौँमा सुरु भएको दुई दिने ५औँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उनले रोजगारी सिर्जना र लगानीकर्ताहरूलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताए।

अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नु पर्नेमा जोड दिए।

“एकातर्फ नेपाली श्रम शक्तिले नेपालमै रोजगारीका पर्याप्त अवसरहरू पाइरहेका छैनन् भने अर्कोतर्फ नेपाली रोजगारदाताले आफूले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न सकिरहेका छैनन्। अर्कोतर्फ नेपाली जनशक्ति श्रम बजारको खोजीमा वाध्यात्मक रूपले वैदेशिक रोजगारमा जानु पर्ने अवस्था विद्यमान छ।

यो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्ध समेतमा देखिएको अन्तरलाई विश्लेषण गर्दै श्रम तथा रोजगारका नयाँ अवसर खोज्न सक्नु पर्दछ । त्यसको लागि क्षेत्रलाई लगानीका लागि वातावरण सिर्जना गरिदिनु पर्छ। ” उनले भने।  

उनले रोजगारी सिर्जनाको “रियल एक्टर” निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा 'र', 'तर', 'कमा' र 'वा' को नाममा असहज परिस्थित बन्न नहुनेमा जोड दिए। नेपालको कूल रोजगारीको ८६ प्रतिशत बढी रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उहाँले निजी क्षेत्रले कुनै उद्योग व्यवसायमा लगानी गर्दा त्यसबाट उसले मात्र फाइदा नलिई सरकार तथा स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने हुनाले विकास निर्माण,पूर्वाधार विकासमा सरकार,राजनीतिक दल तथा निजी क्षेत्रको एउटै धारणा बन्नु पर्ने बताए।

नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्धन दशकको घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताए।

यस्तै उनले औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र ट्रेड युनियन सङ्गठनका बिच सुमधुर औद्योगिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै महासङ्घले रोजगारदाता र श्रमिकहरूका बिचमा सुमधुर सम्बन्ध राख्ने गरी कार्य गरिरहेको जानकारी दिए।

उनले महासङ्घको पहलमा सरकारले विभिन्न कानुनहरू संशोधन गरी सांसदबाट हालै पारित गर्नु सकारात्मक भएको बताउँदै अब छिट्टै नियमावली तथा कार्यविधि ल्याउन सरकारसँग आग्रह पनि गरे।

मुलुकको सामाजिक र आर्थिक रूपान्तरणमा नीतिगत र कानुनी सुधारका लागि पृष्ठपोषण लिने तथा नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्न उद्देश्यका साथ आयोजना गरिएको ५औँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन  गरेका थिए।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाको लागि उद्यमशीलता विकास गर्नु पर्नेमा जोड दिए। यसको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर जान तयार रहेको बताए। सो अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्धन दशक २०८१ तथा आन्तरिक रोजगार प्रवर्धन कार्यक्रम २०८१ को शुभारम्भ गरेका थिए।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती तथा रोजगारीका अवसरका बारेमा धारणा राख्नु भएको थियो।

विभिन्न प्रदेशका प्रदेशका मुख्यमन्त्रीहरू नेपाल उद्योग वाणिज्य महासङ्घका, नेपाल उद्योग परिसङ्घ, नेपाल  चेम्बर अफ कमर्श, महिला उद्यमी महासङ्घ नेपाललगायत रोजगारदाता सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरू तथा विकास नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा विभिन्न विषयमा सोमबार मङ्गलवार  विभिन्न सेसनहरू सञ्चालन हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ