नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थाल्यो - चन्द्र ढकाल [भिडियो]
लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउनेहरूको विरोध गर्ने भए के खोजेको हो ?
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
722
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रूपमा लिने गरिएको उल्लेख गरे ।
उनले केही राजनीतिक दलका नेताहरू र केही संघसंस्थाहरुले विकासका कामलाई विरोध गर्ने गरेको बताए । विकासका काममा राजनीति कसको लागि गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । नकारात्मकतालाई अघि बढाइराख्ने कुरा राम्रो नभएको पनि बताए । अध्यक्ष ढकालले लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउनेहरूको विरोध गर्ने भए के खोजेको हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘नेपालमा रोजगारी सिर्जना गर्ने, लगानी गर्ने, सरकारलाई ट्याक्स तिर्ने, आम नागरिकलाई सुविधा दिने, पूर्वाधार बनाउनु भनेको अभिशाप हो की जस्तो देखिएको छ । यहाँले हेर्नुभयो भने नकारात्मक हिसाबले लिने गरिएको छ । यो साँच्चै यसलाई प्रमोट गरेर जाने हो भने हाम्रो राजनीतिक दलका नेताहरूको के भयो भने यो चिजहरूकै नाममा विरोध भएको देखिन्छ । यो नै हो भने के र कसको लागि राजनीति गर्दै हुनुहुन्छ । म कतिपय राजनीतिक दलका तर्फबाट विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराको विरोध गरिएको छ । कतिपय सङ्घ, संस्थाहरूले यसको नाममा विरोध गरिरहेका छन् । कतिपय अवस्थामा मिडियाले पनि त्यसलाई प्राथमिकता दिएका छन् । हामी नकारात्मकतालाई अघि बढाइराख्ने, रोजगारी दिने, पूर्वाधार बनाउने मान्छेको विरोध गर्ने हो भने राजश्व तिरेर सरकारलाई चाहिने रेभिन्यु तिर्नेहरूको विरोध गर्ने हो भने समाज हामीले कस्तो बनाउँदै छौँ ?’
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उद्यमी व्यवसायीहरूको उत्साहमा कमी आउनु, मनोबल खस्किन दिनु नहुने बताए । उनले सानो अर्थतन्त्र भएको नेपालमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरू कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताए । चुनौती लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरूलाई आँट आउन नसक्नुले थप समस्या निम्तिने जिकिर गरे ।
उनले भने, ‘उद्यमी व्यवसायीहरूको उत्साहमा कमी आउनु, मनोबल खस्किनुको पछाडि कोभिड महामारी, रुस—युक्रेन युद्ध लगायत रहेको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरू कालोसूचीमा पर्नु चिन्ताको विषय हो । अहिले पनि झन् विकराल हुँदै गइरहेको छ । रिस्क लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूले गर्दा उद्योगी व्यवसायीहरूलाई आँट पनि आउन सकेको छैन ।’
अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव केन्द्रीय बैङ्कको रहने र मुलुकको आर्थिक नीति सफल बनाउन मौद्रिक नीति जारी गर्ने केन्द्रीय बैंक भए पनि केही समय यता आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिलेको बताए । जसले निजी क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरिरहेको बताए । राजनीतिक आस्था भन्दा पनि कुशल अर्थविद्लाई गभर्नर नियुक्त गर्नुपर्ने सुझाव दिए ।