कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएकाले कुलमानलाई शून्य अङ्क दिइयो- मन्त्री खड्का [भिडियो]
कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन्
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
732
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शून्य अङ्क दिइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे ।
उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए । उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए ।
उनले भने, ‘यो भदौमा उनले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतीत भइसकेपछि असोजमा उनलाई लिखित रूपमा स्मरण गराइयो । तपाईँले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो । र एकै चोटि पुसमा ल्याएर उनले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदि जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? त्यसकारणले कि मलाई भनिदिनुभन्यो उन कानूनभन्दा माथि हुनुहुन्छ भनेर, अनि संविधानमा पनि लेखिदिनुपर्यो । हामीले ल्याएको व्यवस्था त्यस्तो होइन । सबै नागरिकहरू यस संविधानअन्तर्गत रहनेछन् । कानूनको परिपालना गर्ने सबैको दायित्व हो । त्यसकारण उनले शून्य नम्बर पाउनुभएको हो । उहाँले चिन्दै चिन्नुभएन, टेर्दै टेर्नुभएन ।’
मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरूलाई नटेर्ने भएको कारण उनलाई पटक-पटक स्पष्टीकरण सोधिएको बताए ।