काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको प्रस्तावमा ‘नेपालको ग्रामीण क्षेत्रमा बाँदर र बँदेलको आतङ्कबाट खेतिबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकोले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नको लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै सांसद बजगाईंले बाँदर बँदेलकै कारण मानवबस्ती विस्थापित भएको बताए । उनले पछिल्लो समय मानव–वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको बताए । उनले दर्ता प्रस्तावमा बाँदर र बँदेल नियन्त्रण गरि कृषिबाली जोगाउने उपाय समेत उल्लेख बताए ।
प्रस्तावक समर्थक एवं नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले बाँदर र बँदेलका कारण खेतीमात्र नष्ट नभई गाउँबाट घरपरिवार नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए । उनले पछिल्लो समय जङ्गली जनावरकै कारण गाउँ छोडेर उपत्यका झर्नेहरू बढ्दै गएको कारण बाँदर र बँदेल नियन्त्रणका लागि वैज्ञानिक नीति बनाउन जरुरी रहेको बताए । उनले बाँदर धार्मिक परम्परासँग जोडिएको कारण मार्न नहुनेमा उनको जोड छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस जरुरी महत्वको प्रस्तावलाई अवसरमा परिवर्तन गर्नुपर्ने बताए । उनले बाँदर नियन्त्रणका लागि मार्ने नभई बन्ध्याकरणको नीति अपनाउनुपर्ने बताए । प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै अधिकांश सांसदहरूले जङ्गली जनावरका कारण कृषि क्षेत्र सङ्कटमा परेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले काम गर्न जरुरी रहेको धारणा राखेका छन् ।