arrow

सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
chandra-dhakal-budtal-agm-2025.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरूलाई अवसरमा बदल्नु पर्ने बताएका छन्। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७२ औँ स्थापना दिवसको अवसरमा शनिवार बुटवलमा आयोजित कार्यकमलमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताए।

‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ ।  यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशीलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिन्छ।’ उनले भने।

यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो। ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ। यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ। ’ उनले भने।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसँगै जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट महासङ्घमा जानको लागि अवसर सिर्जना गरेको बताए।

विस २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य सङ्घ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटवल उद्योग वाणिज्य सङ्घले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, संवर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा सङ्घको प्रशंसा गरे।

कृषि, पर्यटन, उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वर भूमि रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरू रहेको समेत अध्यक्ष ढकालले बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत् रूपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य सङ्घको स्थापना गरेको जानकारी गराउँदै सङ्घको स्थापनासँगै सङ्घले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराउनु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ