अर्धवार्षिक कार्य समीक्षा : मन्त्रालय ८१ नम्बरसहित तेस्रो स्थानमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
547
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिडिया ब्रिफिङ शुरु गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मिडिया ब्रिफ्रिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारी दिने बताए । उनले नेपालको संविधानले मौलिक हकको रूपमा सूचनाको हकलाई प्रत्याभूत गरेकाले सर्वसाधारणमा सहजरुपम सूचना पुर्याउन ब्रिफिङ शुरु गरेको बताए । ब्रिफिङ हरेक साताको शुक्रबार दिउँसो साँढे १ बजे हुने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरू तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीहरू सर्वसाधारणमा सहजपुरमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरुपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ । नेपालको संविधानले मौलिक हकको रूपमा सूचनाको हक प्रत्याभूत गरेको हुनाले आम नागरिकलाई यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका निर्णयहरू चाहे त्यो नीतिगत होस् चाहे कार्यगत रूपमा होस् ती चिजहरू पनि आम नागरिकलाई जानकारी दिने यस मिडिया ब्रिफिङको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छु । मानीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परामर्शमा शुरु भएको मिडिया ब्रिफिङ हरेक शुक्रबार दिउँसो साँढे १ बजे सञ्चालन हुने छ । बढीमा आधा घण्टा र नभए १५ मिनेट मिडिया ब्रिफिङ रहने यहाँहरूलाई जानकारी गराउँछु ।’
प्रवक्ता डा. बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताए । हालसम्म विभिन्न विधिबाट ९२ हजार २ सय ७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्किनिङ गरेको उनको भनाइ छ । उनले ३० देखि ४९ वर्षका महिलाहरूले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्किनिङ गराउन आग्रह गरे । पाठेघरको मुखको क्यान्सरको स्किनिङ देशभर सञ्चालन भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘अब पाठेघरको मुखको क्यान्सरको स्किनिङतर्फ जान चाहन्छु, किनभने हामीले पाठेघरको मुखको क्यान्सर नलागोस् भन्नका लागि किशोरीहरूलाई खोपको व्यवस्था गरिसकेका छौँ भने जो ३० वर्षभन्दा माथि हुनुहुन्छ उनहरूको समयमै पहिचान गरी उपचार गर्न सकियोस् र समयमै निदान गर्न सकियो भने पाठेघरको मुखको क्यान्सरलाई निको पार्न सकिन्छ भन्ने उद्देश्यका साथ हिँडेको हुनाले नेपाल सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य पनि लिएको छ । यही लक्ष्य अनुसार नेपाल सरकारले एचपीभी खोपसँग देशभरका ३० देखि ४९ वर्षसम्मका महिलाहरूका पाठेघरको मुखको क्यान्सर स्किनिङ कार्य एकसाथ देशभर सञ्चालन गरेको छ । यस आर्थिक वर्षको मध्यसम्ममा भीआइए विधिबाट ६० हजार नौ सय ३७ एपिबी डिएनए विधिबाट ९ हजार नौ सय २७ र प्याफ विधिबाट २१ हजार चार सय नौ गरी जम्मा ९२ हजार २ सय ७३ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउनुभएको जानकारी गराउन चाहन्छु । यदि तपाई वा तपाईँको परिवारमा पनि ३० देखि ४९ वर्षसम्मका महिला हुनुहुन्छ भने पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराई यस रोगबाट बच्न र बचाउन र नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग गर्नुहुन अनुरोध गर्दछु ।’
प्रवक्ता डा. बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एक महिने अभियान सञ्चालन भइरहेकाले मधुमेह, उच्च रक्तचाप, मृगौला रोगलगायत प्राणघातक रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालय ८१.८ अङ्कसहित तेस्रो स्थानमा रहेको जानकारी दिए ।