राष्ट्रपति पौडेलले लिए उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्थाबारे जानकारी, स्वास्थ्य सुधारोन्मुख
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
534
Shares
कीर्तिपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेल आइतबार बिहान सो अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको आईसीयूमा शनिबार दिउँसो भर्ना भएका थिए ।
अवस्था सुधारोन्मुख
उपचाररत पौडेल र आचार्यको स्वास्थ्य सुधारोन्मुख रहेको छ । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।
दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।
प्राडा बीडी झा, डा प्रविण गिरी लगायतको सघन उपचार कक्षको टोली उपचारमा संलग्न छ । त्यस्तै प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादवको जलन विशेषज्ञहरुको टोली रहेको छ ।
डा प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली रहेको छ ।
अस्पताल निर्देशक किरणकिशोर नकर्मीका अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने भएको छ ।