राज्य व्यवस्था समितिद्वारा प्राप्त उजुरीको अध्ययन गर्न उपसमिति गठन [भिडियो]
संघीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
497
Shares
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरूबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले समितिमा प्राप्त उजुरीहरूको अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिए ।
उनका अनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.चन्दा कार्की, नेकपा (माओवादी केन्द्र) बाट दुर्गा राई, नेकपा (एमाले)बाट मेनुकाकुमारी पोख्रेल र नेपाली काँग्रेसबाट सरिता राई सदस्य रहेका छन् ।
उपसमितिले समितिमा प्राप्त उजुरीहरूको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।
साथै बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा उक्त सहमति गरेको छ । हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामति विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।
कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रश्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको सभापति खतिवडाले बताए ।