नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छ - वर्षमान पुन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
607
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पुनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनः संरचना गर्न छाडेर नयाँ स्कट एक्सचेन्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए ।
उनले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धा दिन आग्रह गरे । उनले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गरे । उनले खुला प्रतिस्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताए ।
उनले भने,‘नेपाल धितो पत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनः संरचना गर्ने कुराहरू आएका छन् । तर पुनः संरचना भइराखेको छैन । नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चली रहेको छ । यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन् । जनतालाई थाहा छ । यो हामीसँग भएको नेपाल स्टक एक्सचेन्जलाई पुनः संरचना गरेर बलियो बनाइयोस् । निजी क्षेत्रमा जानु पर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस् । जनताको खबरदारी छ । प्रमुख प्रतिपक्ष दलको पनि खबरदारी रहेको छ ।’
उनले सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गर्नुभयो । उनले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरू तत्काल ठेक्का लगाएर सुरुवात गर्न सरकारसँग माग गरे । उनले आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरूको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्था गरेको उल्लेख गरे ।