arrow

कांग्रेस संसदीय दलको बैठकमा सांसदका प्रश्नको नेता र मन्त्रीहरूले जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
congress-meet-10-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेश, उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

उनले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गरे । उनले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूको जवाफ दिएर टुङ्गोमा पुगिने बताए । 

उनले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रस्ट पारेको जानकारी दिए । 

उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको उल्लेख गरे । उनले बैठकमा तीन जना विज्ञहरुले सांसदहरूलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरूको अन्तर बस्तुको विषयमा प्रकाश पार्ने कामसमेत भएको बताए । उनले पार्टीभित्र धेरै विषयका वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य भएको बताए । 

आजको बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुनेछ । सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्री र नेताहरूले जवाफ दिनेछन् । 

यो बैठक हिउँदे अधिवेशनमा कांग्रेसले खेल्ने भूमिकालाई केन्द्रित छ । आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन शुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ